सामान्यतया स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति रोग, जोखिमका कारक, उपचार तथा रोकथामका उपायबारे जानकार हुन्छन् भन्ने आम बुझाइ छ । त्यसैले “स्वास्थ्यकर्मीलाई पनि हृदयाघात हुन्छ ?” भन्ने प्रश्न धेरैको मनमा उठ्ने गर्छ । वास्तविकता के हो भने, स्वास्थ्य क्षेमामा कार्यरत व्यक्ति पनि अन्य मानिससरह नै हृदयाघातको जोखिममा हुन्छन् । कतिपय अवस्थामा त उनीहरूमा यो जोखिम अझ बढी देखिन सक्छ । यसको पछाडि विभिन्न शारीरिक, मानसिक, सामाजिक तथा जीवनशैलीसँग सम्बन्धित कारणहरू रहेका छन् ।
सबैभन्दा पहिलो र महत्वपूर्ण कारण अत्यधिक कामको चाप र मानसिक तनाव हो । चिकित्सक, नर्स, स्वास्थ्य सहायक तथा अन्य स्वास्थ्यकर्मीहरू दिनहुँ ज्यानसँग सम्बन्धित निर्णय लिनुपर्ने अवस्थामा हुन्छन् । बिरामी बचाउने दबाब, आफन्तको अपेक्षा, सीमित स्रोतसाधनमा काम गर्नुपर्ने बाध्यता तथा गल्ती भयो भने आउने कानुनी वा सामाजिक प्रश्नहरूले उनीहरूलाई निरन्तर तनावमा राख्छ । दीर्घकालीन तनावले शरीरमा स्ट्रेस हर्मोन (कोर्टिसोल) बढाउँछ, जसले रक्तचाप, मुटुको धड्कन तथा रक्तनलीमा नकारात्मक असर पार्दै हृदयाघातको जोखिम बढाउँछ ।
दोस्रो कारण अनियमित कार्य समय र पर्याप्त निद्राको अभाव हो । स्वास्थ्य पेशामा नाइट ड्युटी, अनकल ड्युटी, आकस्मिक सेवा तथा लामो सिफ्ट सामान्य कुरा हुन् । नियमित र गहिरो निद्रा नपुग्दा उच्च रक्तचाप, मधुमेह, मोटोपन तथा मुटुका रोगको सम्भावना बढ्ने कुरा वैज्ञानिकरुपमा प्रमाणित भइसकेको छ ।
तेस्रो महत्वपूर्ण पक्ष भनेको आफ्नै स्वास्थ्यप्रति हुने बेवास्ता हो । धेरै स्वास्थ्यकर्मी “मलाई त सबै थाहा छ” भन्ने सोचका कारण नियमित स्वास्थ्य परीक्षण गर्दैनन् । बिरामीको चेकजाँचमा व्यस्त हुँदा आफ्नै रक्तचाप, सुगर, कोलेस्ट्रोल जाँच गर्न समय निकाल्न सक्दैनन् । कतिपयले लक्षण देखिँदा पनि “ड्युटी सकेपछि हेर्छु” भन्दै टार्ने गर्छन्, जुन पछि गएर गम्भीर समस्या बन्न सक्छ ।
चौथो कारण अनियमित र अस्वस्थ खानपान हो । समयको अभावका कारण स्वास्थ्यकर्मीहरू धेरैजसो फास्ट फुड, जंक फुड, चिल्लो तथा प्रशोधित खाना खान बाध्य हुन्छन् । अस्पतालको ड्युटीबीच चिया–कफीको अत्यधिक सेवन, ढिलो राति खाना खाने बानी तथा फलफूल र सागसब्जी कम खाने प्रवृत्तिले कोलेस्ट्रोल बढ्ने, मोटोपन र रक्तनलीमा बोसो जम्ने समस्या बढाउँछ ।
पाँचौँ कारण धूम्रपान, मदिरा तथा क्याफिनको अत्यधिक प्रयोग हो । सबै स्वास्थ्यकर्मीले धूम्रपान वा मदिरा सेवन गर्छन् भन्ने होइन, तर तनाव र थकान कम गर्न भन्दै केहीमा यस्तो बानी विकास भएको पाइन्छ । धूम्रपानले रक्तनली साँघुरो बनाउँछ भने मदिराको अत्यधिक सेवनले रक्तचाप तथा मुटुको मांसपेशीमा नकारात्मक असर पार्छ । त्यसैगरी धेरै कफी वा चियाको सेवनले मुटुको धड्कन अनियमित बनाउन सक्छ ।
छैटौँ कारण शारीरिक गतिविधिको कमी हो । लामो समय उभिएर वा लगातार बसिरहने काम, व्यायामका लागि समय नपुग्नु तथा थकानका कारण आराममै सीमित हुने बानीले शारीरिक सक्रियता घटाउँछ । नियमित व्यायामको अभावले मोटोपन, मधुमेह तथा हृदयाघातको जोखिम बढाउँछ ।
सातौँ कारण वंशानुगत तथा पहिलेदेखिका स्वास्थ्य समस्या हुन् । यदि परिवारमा हृदयाघातको इतिहास छ भने व्यक्ति स्वास्थ्यकर्मी भए पनि जोखिम कम हुँदैन । उच्च रक्तचाप, मधुमेह तथा कोलेस्ट्रोल जस्ता समस्या नियन्त्रणमा नरहेमा हृदयाघात हुन सक्छ ।
ज्ञान र व्यवहारबीचको दुरी पनि एउटा ठूलो कारण हो । स्वास्थ्यकर्मीलाई सबै जानकारी भए पनि त्यसलाई व्यवहारमा उतार्न नसक्दा समस्या उत्पन्न हुन्छ । अरूलाई सल्लाह दिने तर आफूले पालना नगर्ने प्रवृत्ति कतिपयमा देखिन्छ । स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति पनि मानिस नै हुन् । उनीहरूमा तनाव, थकान, अस्वस्थ जीवनशैली तथा वंशानुगत जोखिमका कारण हृदयाघात हुन सक्छ । स्वास्थ्यकमर्मीले पनि नियमित स्वास्थ्य परीक्षण, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, सन्तुलित आहार तथा नियमित व्यायामलाई प्राथमिकता दिनु अत्यन्त आवश्यक छ । “आफ्नो स्वास्थ्य सुरक्षित भए मात्र अरूको स्वास्थ्य जोगाउन सकिन्छ” भन्ने सोच आजको आवश्यकता हो । यो कुरा हामी स्वास्थ्यकर्मीहरूले मनन गर्नुपर्छ ।
