काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले औषधि क्षेत्रमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताउनु भएको छ। नेपाल औषधि उत्पादक संघद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले देशभित्र उत्पादन हुन सक्ने औषधिहरूलाई प्राथमिकता दिने नीति सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
उहाँले औषधि उद्योगले देशको स्वास्थ्य सेवा र अर्थतन्त्र दुवैमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै यस क्षेत्रमा संलग्न व्यवसायीहरूको योगदान प्रशंसनीय रहेको बताउदै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्नेमा जोड दिनु भएको थियो।
ढकालले अहिले पनि नेपालमा उत्पादन गर्न सकिने धेरै औषधिहरू आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै घरेलु उद्योगलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताउनु हुँदै सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकता दिए औषधि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सकिने उहाँको भनाइ थियो।
कोभिडपछि विदेशी मुद्रा अभाव हुँदा सरकारले आयात नियन्त्रणको नीति अपनाएको प्रसंग उल्लेख गर्दै ढकालले त्यसको प्रभावकारिता अपेक्षित रूपमा देखिन नसकेको समेत बताउनु भएको हो ।
