काठमाडौं । नेपाल औषधि उद्योगको विकास, प्राविधिक सुधार र व्यापार प्रवर्धनका लागि नेपाल र भारतका निकायबीच द्विपक्षीय सहयोगको सहमति भएको छ । नेपाल फर्मा एक्स्पो २०८२ को अवसरमा नेपाल औषधि उद्योग र भारत सरकारको इन्जिनियरिङ निर्यात प्रवर्धन परिषद् (ईईपिसी) बीच यस्तो सहमति भएको हो ।
सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन् । यसका साथै औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिने छ ।
सम्झौतामा औषधि उद्योगको विकासका लागि औद्योगिक भ्रमण र व्यापार व्यवसायलाई थप विस्तार गर्न एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । यो सहकार्यले नेपाली औषधि उत्पादकहरूलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमा पहुँच पुर्याउन र स्वदेशी उद्योगको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । भारत सरकारको ईईपिसीसँगको यो साझेदारीले नेपालको औषधि क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
