चिसो मौसममा प्रायः सानो उमेरका बालबालिकाहरूमा निमोनिया रोगले किन धेरै असर गर्छ, भनी भरतपुर अस्पतालमा कार्यरत वरिष्ठ बालरोग विशेषज्ञ डा. खेमराज पौडेलसँग स्वास्थ्य दर्पण टिमले कुराकानी गरेका छौं । प्रस्तुत छ, डा. पौडेलसँगको संवाद :
निमोनिया भनेको के हो ?
0 निमोनिया भनेको फोक्सोमा संक्रमण भएर फोक्सोका साना थैलीहरू ९एयर स्याक्स० मा पस, पानी वा कफ भरिने अवस्था हो । यसले सास फेर्न गाह्रो बनाउँछ र बच्चाको ज्यान नै जोखिममा पार्न सक्छ ।
चिसो मौसममा बच्चामा निमोनिया किन बढी देखिन्छ ?
0 चिसो मौसममा बच्चाहरूलाई चिसो हावा, धुलोधुँवा, भाइरस तथा ब्याक्टेरियाको संक्रमण छिटो लाग्ने गर्छ । बच्चाको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) वयस्कको भन्दा कमजोर हुने भएकाले यस समयमा निमोनिया हुने जोखिम धेरै हुन्छ ।
बच्चामा निमोनियाका मुख्य लक्षण केके हुन्छ ?
0 छिटोछिटो सास फेर्नु, सास फेर्दा छाती धस्सिनु, उच्च ज्वरो आउनु, खोकी बढ्दै जानु, दूध र खाना नखानु, बच्चा सुस्त हुनु, झोक्राएको जस्तो देखिनु, नाक फुलाएर सास फेर्नु, ओठ वा नङ निलो देखिनु निमोनिया रोगको प्रभाव भएमा देखिने लक्षणहरू हुन् ।
कुन–कुन उमेरका बच्चामा निमोनियाको जोखिम बढी हुन्छ ?
0 सामान्यतया ५ वर्ष मुनिका बालबालिका, कुपोषित बच्चा, समयभन्दा अगाडि जन्मिएका बच्चा, खोप पूरा नलगाइएका बच्चा, धुँवाधुलो भएको वातावरणमा बस्ने बच्चा, बारम्बार रुघाखोकी लाग्ने बच्चाहरूमा निमोनिया रोगको असर बढी देखा पर्ने गर्दछ ।
बच्चालाई चिसोबाट कसरी जोगाउने ?
0 बच्चालाई न्यानो कपडा लगाइदिने, टाउको, छाती र खुट्टा राम्रोसँग ढाक्ने, बिहान–साँझ चिसो हावाबाट जोगाउने, धेरै चिसोमा बाहिर ननिस्कने गरिएमा यो समस्याबाट बच्न सहयोग पुग्दछ ।
खानपान र पोषणको तालमेल कसरी मिलाउनु पर्दछ ?
0 स्तनपान गर्ने बच्चालाई नियमित स्तनपान गराउने, उमेर अनुसार पोषिलो खाना खुवाउने, तातो झोलिलो खानेकुरा दिने, पानी पर्याप्त खुवाउने गर्दा राम्रो हुन्छ ।
खोपले निमोनियाबाट जोगाउँछ भन्ने सुनिन्छ । कुरा ठिक हो त डाक्टर साब ?
0 हो, निमोनिया विरुद्धको खोप (एऋख्), दादुराविरुद्धको खोप, बीसीजी खोपले निमोनियाको जोखिम धेरै हदसम्म घटाउँछन् । त्यसैले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप अनिवार्य लगाउनुपर्छ । नेपाल सरकारले पनि यी खोप सेवालाई निरन्तरता दिँदै प्रभावकारी तरिकाले अगाडि बढेको अवस्था छ ।
घरको वातावरण कस्तो हुनुपर्छ ?
0 घरभित्र धुँवा नलगाउने, दाउरा, कोइला बाल्दा बच्चालाई टाढा राख्ने, घरभित्र हावा ओहोरदोहोर हुने व्यवस्था मिलाउने, धुलो कम गर्ने विषयमा ध्यान दिनु आवश्यक छ । यदि बच्चाले सास फेर्न गाह्रो मानेमा, छाती धस्सिने गरी सास फेरेमा, दूध वा पानी पनि नखाने भएमा, ज्वरो नघटेमा, बच्चा अत्यधिक सुस्त भएमा उपचारका लागि बच्चालाई अस्पतालमा लैजानु पर्दछ ।
चिसो मौसममा बच्चामा निमोनिया देखिएमा गम्भीर रोग हो भन्ने बुझेर समयमै सचेत भएमा सजिलै रोकथाम गर्न सकिन्छ । न्यानो वातावरण, पोषणयुक्त खाना, खोप र प्रारम्भिक लक्षण देखिनासाथ उपचार नै बच्चालाई स्वस्थ राख्ने मुख्य उपाय हुन् । तसर्थ सबै अभिभावकले चिसो मौसममा बच्चामा देखा पर्ने निमोनिया रोगबारे सचेत हुनु आवश्यक देखिन्छ ।
