प्राकृतिक जोर्नीले जस्तै काम गर्ने गरी शरीरमा कृत्रिम जोर्नी राख्ने उपचार पद्धति नै जोर्नी प्रत्यारोपण हो । सन् १९७० मा बेलायतबाट सुरु भएको जोर्नी प्रत्यारोपण धेरै वर्ष अनेक प्रयासमा परिवर्तन भई आजको स्वरुपमा आएको हो । अहिलेसम्म जोर्नी प्रत्यारोपण धेरै सफल सर्जरीमध्ये पर्छ, जसले बिरामीलाई मोबिलिटी र इन्डिपेन्डेन्स प्रदान गर्छ । प्रतिशतमा भन्नु पर्दा ९५ दशमलव ५ प्रतिशतभन्दा बढी सफल नतिजा भैरहेका छन् ।
पछिल्लो समय स–सानादेखि ठूला सबै जोर्नीहरूको सफल प्रत्यारोपण गरिँदै आइएको छ । यसमा मुख्यतया हुने प्रत्यारोपण भनेको कम्मर र घुँडाको जोर्नी नै हो । यसमा विभिन्न उत्पादक कम्पनी अनुसारका फरकफरक डिजाइनका कम्मर र घुँडा हुन्छन् । सामान्यतया यसको आयु २० देखि २५ वर्ष हुने गर्छ ।
कसलाई गरिन्छ प्रत्यारोपण ?
0 जोर्नी बिग्रेर हिँड्न नसक्नेका लागि निकै प्रभावकारी हुने गर्दछ ।
0 जोर्नीको वा खुट्टाको आकार बिग्रेकाहरू तथा खुट्टा लामो छोटो भएकाको लागि
0 उमेरले ५५ देखि ६० नाघेको र कम उमेरमै जोर्नी पूरै नष्ट भएका बिरामी
0 अन्य उपचार विधिबाट जोर्नीको दुखाई निको नभएकाहरूलाई दवाई, सुई, फिजियो, ब्रेस आदि
प्रत्यारोपणका फाइदाहरू
0 जोर्नीको दुखाईबाट पूर्ण निवारण पाइने (Pain Free)
0 हिँड्नका लागि सहारा आवश्यक नपर्ने (Independent Mobility)
0 खुट्टाको आकार लामो छोटो मिल्ने (Alignment)
कसरी र कहाँ हुन्छ प्रत्यारोपण ?
विगतका दिनहरूमा विदेशमा मात्र हुने यो प्रत्यारोपण अहिले नेपालमै हुन्छ । यसको लागि पूर्ण सुविधाहरू (Operation theater and equipment system) प्रयोग हुने भएकाले यो प्रविधि अलि महँगो हुने गर्छ । तर यसले दिने नतिजा र स्वतन्त्रतामा तुलना गर्दा यो मूल्य भने न्यून हो । हामीले यो खालको प्रत्यारोपण सर्जरी हालसम्म २०० जनाभन्दा बढीमा सफलतापूर्वक गरिसकिएको जानकारी गराउन चाहन्छौँ । काठमाडौं बाहिर यसरी यी सर्जरी गर्न बिरामीलाई सम्झाईबुझाई गर्न निकै चुनौतिपूर्ण रहन्छ । तर पनि बिरामीहरूले हाम्रो अस्पतालबाट प्रदान गरिने सेवाबाट खुसी हुँदै थप अन्य बिरामीहरूलाई समेत पठाउने गरेकाले प्रत्यारोपण कार्यलाई अझ प्रभावकारी तरिकाले अगाडि बढाएका छौं । किनभने बिरामी र उनीहरूका आफन्तजनको खुसी नै हाम्रो उद्देश्य हो ।
जोर्नी प्रत्यारोपण गरेका बिरामीहरूले विशेष ध्यान दिनुपर्ने कुराहरू
सामान्यतया बिरामीहरूलाई शल्यक्रियापछि ५ दिन अस्पतालमा भर्ना गरिन्छ । बिरामीलाई अप्रेशनको दोस्रो दिनदेखि हिँड्न सिकाइन्छ । करिब ६ हप्तामा वाकरको सहायताले हिँड्न सक्ने अवस्थामा पुगेपछि टेकेर वा छोडेर हिँड्छन् । यसको पूर्ण रिकभरी समय तीन महिना हो । २ हप्तामा टाँका काटिन्छ । त्यसपछि नियमित २-४ हप्तासम्म फिजियोथेरापी गरिन्छ ।
जोर्नी प्रत्यारोपणसँग जोडिएका भ्रम र सत्य
वृद्धावस्थामा गर्न मिल्दैन
0 धेरै प्रत्यारोपण हुने भनेको नै ६०-७० वर्षमा हो ।
सुगर, प्रेसर भएकाले गर्न मिल्दैन
0 सुगर, प्रेसर दुवै नियन्त्रण गरेर मात्र यो सर्जरी गरिन्छ । सामान्यलाई भन्दा थोरै बढी संक्रमणको जोखिम हुन सक्छ ।
आवाज आउँछ र बाहिरबाट देखिन्छ
0 पूर्णरुपमा भित्र भएकाले बाहिरबाट देखिन्न, न त आवाज नै आउँछ ।
जोर्नी काम लादैन
0 जोर्नीहरूको आयु २० देखि २५ वर्ष हुने भएकाले यो एकपटक गर्ने अप्रेशन हो । तथापि अन्य जटिलताहरू जस्तैः सङ्क्रमण, फ्य्राक्चर लुज भएको देखिएमा मात्र दोस्रोपटक गर्नु पर्ने हुन सक्छ ।
प्रत्यारोपणका जोखिमहरू
0 जोर्नी सङ्क्रमण (Infection)
0 रक्त जम्ने (Clots)
0 जोर्नी फुस्कने (Dislocation)
प्रत्यारोपणपछि के गर्न हुन्छ ?
0 साधारणतया हिँड्न
0 जगिङ गर्न
0 भर्याङमा तलमाथि गर्न
0 सवारीसाधन चलाउन
0 पौडी खेल्न
प्रत्यारोपणपछि के गर्न हुँदैन ?
0 घोडा चढ्न
0 फुटबल, दौड र अन्य खेलकुद आदि
0 ट्रेकिङ, हिमाल आरोहण गर्न
0 पलेटी मारेर बस्न
जोर्नी प्रत्यारोपणपछि ख्याल गर्नुपर्ने कुराहरू
0 नियमित जाँच गर्दा वर्षको एकपटक एक्स–रे गरी अवस्था हेर्ने
0 हड्डी बलियो बनाउने खानेकुराहरू, क्याल्सियम र अन्य औषधिको सेवन गर्ने
0 हड्डी र जोर्नी संङ्क्रमणबाट बच्ने
नेपालमा पनि पछिल्लो समय स्वास्थ्य क्षेत्रका विकास धेरै नै अगाडि रहेको छ । केही समय अगाडिका दिनहरूमा नेपाल बाहिर वा काठमाडौं केन्द्रित सेवा प्रवाह हुने गरेकोमा हाल यस किसिमका स्वास्थ्य सेवाहरू नेपालका प्रत्येक शहरहरूमा उपलब्ध हुनाले बिरामीहरूका लागि पनि धेरै सहज र राम्रो भएको छ ।
