आजको आधुनिक युगमा मेटाबोलिक सिन्ड्रोम मेडिकल क्षेत्रमा एउटा निकै प्रचलित Hot Topic को रुपमा चिनिन्छ । हाम्रो नेपालमा भने अझै पनि यस विषयमा पर्याप्त चर्चा भइरहेको छैन । मेटाबोलिकलाई नेपालीमा “चयापचय” भनिन्छ । यसले शरीरभित्र हुने रासायनिक प्रक्रिया (जस्तै : खानाबाट ऊर्जा बनाउने, शरीरका विभिन्न कोषहरूको मर्मत गर्ने, शरीरलाई नचाहिने अपशिष्ट पदार्थ बाहिर निकाल्ने) जनाउँछ । सिन्ड्रोम भनेको कुनै एउटा रोगमात्र नभई विभिन्न स्वास्थ्य समस्याहरूको मिश्रित अवस्था संकेत गर्ने लक्षणहरूको समूह हो । तसर्थ मेटाबोलिक सिन्ड्रोम कुनै एउटा रोग होइन, बरु विभिन्न लक्षण र अवस्थाहरूको समूह हो ।
मेटाबोलिक सिन्ड्रोमका पाँच मुख्य स्वास्थ्य समस्या
– पेट वरिपरि अत्यधिक बोसो जम्नु : पुरुषमा कम्मरको घेराइ ४० इञ्चभन्दा बढी र महिलामा ३५ इञ्चभन्दा बढी हुनु ।
– उच्च रक्तचाप : सिस्टोलिक १३० mm Hg वा बढी र डायस्टोलिक ८५ mm Hg वा बढी अथवा उच्च रक्तचाप रोगको औषधि सेवन गर्ने बिरामीहरूमा ।
– उच्च ब्लड सुगर वा पूर्व–मधुमेह अवस्था वा Insulin Resistance (शरीरका कोषिकाहरूमा इन्सुलिनको प्रभाव कम भएको कारण ब्लड सुगर बढ्नु) :Fasting Blood Sugar (८ घण्टा खाली पेट अवस्थामा रगतमा सुगर १०० mg/dl वा बढी हुनु, यदि १०० देखि १२५ mg/dl छ भने Prediabetic मानिन्छ । यदि १२५ mg/dl भन्दा बढी छ भने प्रायः Type 2 Diabetes हुने सम्भावना हुन्छ ।)
– उच्च ट्राइग्लिसराइडस : रगतमा ट्राइग्लिसराइडको स्तर १५० mg/dl भन्दा बढी हुनु ।
– कम HDL कोलेस्ट्रोल : जसलाई हाम्रो शरीरलाई फाइदाजनक कोलेस्ट्रोल, “गुड कोलेस्ट्रोल” भनिन्छ । पुरुषमा ४० mg/dl भन्दा कम, महिलामा ५० mg/dl भन्दा कम हुनु ।
यी ५ मध्ये कम्तीमा तीन वा बढी समस्या एउटै व्यक्तिमा देखियो भने हामी त्यस व्यक्तिलाई मेटाबोलिक सिन्ड्रोम भएको निदान गर्छौं । मेटाबोलिक सिन्ड्रोमलाई Syndrome X, Insulin resistance syndrome / Dysmetabolic syndrome पनि भनिन्छ ।
मेटाबोलिक सिन्ड्रोममा देखा पर्ने समस्या र यसका लक्षणहरू
– मेटाबोलिक सिन्ड्रोम आफैँमा रोग नभए पनि यसले खतरनाक रोग र स्वास्थ्य समस्याहरू निम्त्याउने ढोका खोलिदिन्छ । विषेशगरी हृदय र रक्तनलीका रोगहरू, जस्तै : हृदयाघात (मुटुमा रक्तसञ्चार बन्द हुने), Atherosclerosis-Arteries (धमनीमा बोसो जमेर नली साँघुरो हुने), स्ट्रोक (मस्तिष्कमा रगत आपूर्ति अवरुद्ध हुने)
– टाईप २ मधुमेह (दोस्रो प्रकारको मधुमेह, जसमा जीवनभर मधुमेहको औषधि वा इन्सुलिनमा निर्भर रहनुपर्ने अवस्था आउन सक्छ ।
– मृगौलाको रोग : लगातार उच्च रक्तचाप र मधुमेहले मृगौला बिगार्छ ।
– Fatty Liver Disease (कलेजोमा जमेको अत्यधिक बोसोले कलेजोको काम गर्ने क्षमतामा पनि असर पुर्याउँछ)
यी सबै गम्भीर र प्राणघातक रोगहरूको जोखिम मेटाबोलिक सिन्ड्रोम भएका व्यक्तिहरूमा धेरै गुणा बढी हुन्छ । त्यसैले यसलाई बेवास्ता गर्नु हुँदैन र मेटाबोलिक सिन्ड्रोमलाई सामान्य समस्या ठान्नु ठुलो गल्ती हुन्छ । मेटाबोलिक सिन्ड्रोमलाई “Silent Killer” अर्थात् गम्भीर लक्षण नदेखिने तर खतरनाक समस्या सृजना गर्ने प्राणघातक अवस्था पनि भनिन्छ । बिरामीलाई पाँच मुख्य स्वास्थ्य समस्यामध्ये कुन–कुन भएको छ भन्ने आधारमा फरक–फरक लक्षणहरू देखिन सक्छ ।
उदाहरणका लागि, उच्च रक्तचाप, उच्च ट्राइग्लिसराइडस् र कम HDL कोलेस्ट्रोलले प्रायः कुनै लक्षणहरू देखाउँदैनन् । तर High Blood Sugar (रगतमा ग्लुकोजको मात्रा बढी हुनु) ले केही व्यक्तिहरूमा निम्न लक्षणहरू देखाउन सक्छ :
– Acanthosis nigricans (काखीमा वा घाँटीको पछाडि र छेउतिर छालामा कालो दाग पर्नु)
– Blurred vision (दृष्टि धमिलो हुनु)
– Polydipsia (अत्यधिक तिर्खा लाग्नु)
– Polyuria, Nocturia (बारम्बार पिसाब लाग्नु, विशेषगरी राति)
– अत्यधिक थकान महसुस हुनु
यदि तपाईंमा यी लक्षणहरू देखिएका छन् भने तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गएर डाक्टरसँग जाँच गराई परामर्श लिनुहोस् ।
मेटाबोलिक सिन्ड्रोमको कारण
– अस्वस्थ जीवनशैली यसको प्रमुख कारण : नियमित व्यायाम नगर्ने, दिनभरि कुर्सी, सोफामा बस्ने, खाटमा पल्टिराख्ने, अत्यधिक फास्ट–फुड, चिल्लो र चिनी बढी भएको खाना खाने, धूम्रपान र मद्यपान गर्ने, यी सबै कारणले शरीरमा बोसो जम्ने, रगतमा सुगर बढ्ने, र ब्लड–प्रेसर असामान्य हुने समस्या देखा पर्छ ।
– तनाव तथा निद्रामा कमी पनि महत्वपूर्ण कारण : आजको निष्क्रिय, बिलासी र द्रुत जीवनशैलीले मानसिक स्वास्थ्यमा असर गर्ने मात्र होइन, हार्मोनहरू असन्तुलित भई Metabolism (चयापचय) बिगार्छ । केही Research हरूको तथ्यांकअनुसार दैनिक ४ घण्टा वा बढी Screen time मोबाइल वा कम्प्युटर चलाउने व्यक्तिहरूमा मेटाबोलिक सिन्ड्रोमको जोखिम ३ गुणा बढी हुन्छ ।
– Genetic (आनुवंशिक) कारण : यदि परिवारमा हजुरबुवा, हजुरआमा वा आमाबुवामा मधुमेह वा उच्च रक्तचाप थियो भने त्यसको सम्भावना सन्तानमा र भावी पुस्तामा पनि बढी हुन्छ ।
– उमेर र लिङ्ग : उमेर बढ्दै जाँदा, विशेषगरी महिलामा मेनोपजपछि मेटाबोलिक सिन्ड्रोम देखिने सम्भावना बढी हुन्छ । आजभोलि Gen–Z भनेर प्रचलित युवा पिँढीमा पनि निष्क्रिय र विलासी जीवनशैलीले गर्दा धेरै मात्रामा मेटाबोलिक सिन्ड्रोमको खतरा बढिरहेको देखिन्छ ।
मेटाबोलिक सिन्ड्रोमबाट बच्ने उपाय
मेडिकल साइन्सको सबैभन्दा प्रचलित वाक्य “Prevention is better than cure” अर्थात् “रोकथाम नै उपचारभन्दा प्रभावकारी हुन्छ” भन्ने सिद्धान्त मेटाबोलिक सिन्ड्रोममा पनि लागू हुन्छ । मेटाबोलिक सिन्ड्रोमबाट बच्न हामीले जीवनशैलीमा केही सरल तर दृढ परिवर्तन गर्नुपर्छ ।
– नियमित व्यायाम : कम्तीमा दैनिक ३० मिनेट तीब्ररुपमा हिँड्ने वा दौडने, योगा वा अन्य शारीरिक गतिविधिहरू अनिवार्य गर्नुपर्छ ।
– स्वस्थ खाना : बढी चिल्लो, नुनिलो र चिनी भएको खाना कम गर्ने, फलफूल, तरकारी, दाल, अन्न, उपयुक्त मात्रामा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, फाइबरका श्रोत भएको सन्तुलित आहार खाने बानी गर्नुपर्छ ।
– तौल नियन्त्रण : शरीरको BMI (Body Mass Index) २५ भन्दा कम राख्ने, पेट वरिपरि बोसो घटाउने ।
– धूम्रपान र मद्यपान जस्ता अम्मलबाट टाढा रहने : यी अम्मलहरू मेटाबोलिक सिन्ड्रोमलाई झन् तीव्र पार्ने कारण हुन् ।
– तनाव व्यवस्थापन र राम्रो निद्रा : ध्यान, योग वा आफ्नै रुचिका स्वस्थ क्रियाकलापद्वारा तनाव कम गर्ने । यी उपायहरू सरल देखिए पनि निरन्तर अभ्यास गर्न सकियो भने जीवनभर अधिकांश रोगहरूबाट मुक्त रहन सकिन्छ ।
मेटाबोलिक सिन्ड्रोमको उपचार
सर्वप्रथम हामीले नियमित स्वास्थ्य परीक्षण गर्ने बानी बसाल्नु पर्छ र स्वास्थ्य परीक्षण गर्दा आफ्नो रक्तचाप, ब्लड सुगर, कोलेस्ट्रोल, शरीरको तौल, कम्मरको घेराइ आदि नियमित रूपमा जाँच गरेर मेटाबोलिक सिन्ड्रोमबारे सजग हुनुपर्छ । यदि कसैलाई मेटाबोलिक सिन्ड्रोम भएको निदान भएमा चिकित्सकले निम्न उपचार र परामर्श दिन सक्छन् :
तौल घटाउन र जीवनशैली परिवर्तन गर्न मार्गदर्शन : BMI ३० देखि ३५ वा बढी भएका व्यक्तिहरू, जो मेटाबोलिक सिन्ड्रोमबाट प्रभावित छन् र नन–सर्जिकल उपायहरू अपनाउँदा पनि पर्याप्त तौल घटाउन असफल भएका छन्, त्यस्ता व्यक्तिहरूका लागि मोटोपना नियन्त्रण गर्ने शल्यक्रियाबारे विचार गर्नुपर्छ ।
औषधिबारे परामर्श : उच्च रक्तचाप नियन्त्रण गर्न औषधि, ब्लड सुगर नियन्त्रण गर्न औषधि वा इन्सुलिन, कोलेस्ट्रोल घटाउने औषधि आदि आवश्यकताअनुसार डाक्टरले परामर्श दिन सक्नुहुन्छ । तर याद राख्नुहोला, डाक्टरको परामर्शबिना कुनै पनि औषधि सेवन गर्नु हुँदैन ।
औषधि अन्तिम विकल्प हो, जीवनशैली सुधार नै मेटाबोलिक सिन्ड्रोमको मुख्य उपचार हो भन्ने तथ्यलाई हामी सबैले आत्मसात गर्नुपर्छ । मेटाबोलिक सिन्ड्रोम आधुनिक जीवनशैलीले ल्याएको एउटा गम्भीर स्वास्थ्य चुनौती हो । हामी सबैले सचेत भएर नियमित व्यायाम, स्वस्थ खाना, तौल नियन्त्रण, तनाव व्यवस्थापन, Quality sleep र नियमित स्वास्थ्य परीक्षणलाई जीवनको अभिन्न अंग बनाएर सजिलै यसलाई नियन्त्रण गर्न सक्छौँ ।
