भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका पूर्वअध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको शुक्रबार निधन भएको छ । उहाँ क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । डा. न्यौपानेको उपचारमा संलग्न मेडिकल अंकोलोजिष्ट डा. अरुण शाहीका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा ६४ वर्षीय न्यौपानेको निधन भएको हो ।
पित्त बग्ने नलीमा हुने एक प्रकारको क्यान्सर कोलान्जिओ कार्सिनोमाबाट डा. न्यौपाने पछिल्लो एक वर्षदेखि पीडित हुनुहुन्थ्यो । पछिल्लो एक महिनादेखि उहाँ पाटन अस्पतालमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो ।
वरिष्ठ कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्ट डा. न्यौपाने पेट, कलेजो, प्यान्क्रियाज, थाइरोइड, स्तन, मृगौला र छालाको क्यान्सरको शल्यक्रियामा विशेषज्ञ हुनुन्थ्यो । उहाँ भक्तपुर क्यान्सर अस्पतालको पूर्व मेडिकल डाइरेक्टर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको पूर्वअध्यक्ष हुनुहुन्थ्यो ।
पछिल्लो समय उहाँ बी एण्ड बी अस्पताल ललितपुर, काठमाडौँ क्यान्सर सेन्टर भक्तपुर, नेपाल अर्वुद रोग निवारण संस्थामा समेत आवद्ध हुनुहुन्थ्यो । उहाँ क्यान्सर विरुद्धको जागरण कार्यक्रमहरूमा पनि सक्रिय हुनुहुन्थ्यो । नेपाल सर्जिकल अन्कोलोजिस्टका पूर्वअध्यक्ष उहाँले विभिन्न सरकारी एवं निजी स्वास्थ्य संस्थाहरूमा क्यान्सरका बिरामीको उपचार गर्दै आउनुभएको थियो ।
