काठमाडौँ । स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट वरिष्ठ स्वास्थ्यकर्मी विनोद अर्याल सम्मानित हुनुभएको छ । स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रमकी प्रमुख अतिथि पूर्वस्वास्थ्यमन्त्री सुधा गौतम शर्माले वरिष्ठ स्वास्थ्यकर्मी विनोद अर्याललाई हेल्थ अवार्ड प्रदान गर्नुभएको हो ।
नेपालको स्वास्थ्य शिक्षा र सेवाका क्षेत्रमा वरिष्ठ स्वास्थ्यकर्मीको रुपमा विनोद अर्यालले पुर्याउनु भएको योगदानको कदर गर्दै उहांँलाई राष्ट्रिय हेल्थ अवार्ड–२०८२ बाट सम्मानित गरिएको स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठले बताउनुभयो ।
नेपालका सात वटै प्रदेशबाट छनौट गरी स्वास्थ्य क्षेत्रमा योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार र संस्थालाई गरी २० वटा अवार्ड वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष राष्ट्रिय हेल्थ अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ ।
