बुटवल । मुटु, रक्तनली तथा फोक्सोसम्बन्धी शल्यचिकित्साबारे हाल प्रयोग भइरहेको प्रविधिबारे जानकारी आदानप्रदान गर्ने उद्देश्यका साथ यसका विशिष्ट चिकित्सकबिच एक दिवसीय वैज्ञानिक अनुभव आदानप्रदान (कन्टिनियस मेडिकल एजुकेसन-सिएमई) कार्यक्रम सम्पन्न भएको छ ।
कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभाग, मनमोहन कार्डियोथोरेसक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, आइओएम, त्रि.वि.को आयोजना, सर्जन समाज नेपाल–लुम्बिनी शाखा तथा लुम्बिनी इन्टरनेसनल मेडिसिन सोसाइटीको स्थानीय समन्वय, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र सेभ द हार्टको विशेष व्यवस्थापनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता सेभ द हार्टका अध्यक्ष, त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका विभागीय प्रमुख वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईले गरेका थिए । डा. भट्टराईका अनुसार कार्यक्रममा नेपालमा मुटु, रक्तनली र फोक्सोको शल्यचिकित्साका उपलब्धि, नयाँ प्रविधिको उपयोगबारे जानकारी, वर्तमान अवस्था र भावी दिनका कार्ययोजना विषयमा छलफल भयो ।
कार्यक्रममा वक्ताका रूपमा प्रा.डा. अनिल भट्टराई, सहप्रा. डा. कजन राज श्रेष्ठ (रक्तनली चिकित्सक) उपप्रा.डा.आकृति शर्मा (फोक्सोको शल्यचिकित्सक) ले आआफ्नो प्रस्तुति दिएका थिए । प्रा.डा. भट्टराईले पहिलो पटक लुम्बिनी प्रदेशमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रका चिकित्सक तथा चिकित्सकबाट प्रत्यक्ष-परोक्ष सेवा प्राप्त गर्ने सेवाग्राहीका लागि विशेष लाभ पुगेको बताए । उनले समग्र कार्यक्रमको व्यवस्थापकीय जिम्मेवारी वहन गर्नुहुने ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ र सेभ द हार्टका महासचिव शेरबहादुर रानालाई विशेष धन्यवाद व्यक्त गरे ।
डा. वास्तविकता श्रीवास्तव र डा. सुभिका धितालले संयुक्त रूपमा सञ्चालन गरेको कार्यक्रममा बुटवल तथा भैरहवा क्षेत्रका ६० जना चिकित्सक तथा विज्ञहरूको सहभागिता रहेको थियो । वरिष्ठ कार्डियोलोजिस्ट डा. समीर गौतम, कार्डियोथोरासिक तथा भास्कुलर सर्जन डा. सन्तोष शाह, लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीका क्रमशः अध्यक्ष डा. विष्णु पौडेल, सचिव डा. सुभास तथा दि सोसाइटी अफ सर्जन अफ नेपाल, लुम्बिनी शाखाका सचिव डा. प्रवीण जोशीलगायतको सहभागिता थियो ।
वैज्ञानिक सत्रमा हृदयसम्बन्धी विभिन्न विषयका विज्ञहरूले आफ्नो अनुभव, अनुसन्धान तथा धारणा प्रस्तुत गरेका थिए । डा. विष्णु पौडेल र डा. समीर गौतम तथा डा. सन्तोष शाहले विशेष प्रस्तुति दिएका थिए ।
ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले हाम्रो संवेदनशील मुटु, रक्तनली तथा फोक्सो सम्बन्धी शल्यचिकित्साका बारेमा भएगरेका पछिल्ला उपलब्धि, प्रविधि र प्रयोगबारे यस किसिमको कार्यक्रम आयोजना भई सो क्षेत्रका चिकित्सकका बिचमा गहन अन्तर्क्रिया कार्यक्रम सम्पन्न हुनु सम्बन्धित सबैका लागि फलदायी भएको बताए ।
