चितवन । नेपाल चिकित्सक संघले आगामी जेठ १६ र १७ गते ‘मेडिकल सिटी’ चितवनमा ‘एनएमए कन २०२६’ आयोजना गर्ने भएको छ । संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी ३०औँ राष्ट्रिय चिकित्सक सम्मेलन तयारीबारे जानकारी दिएको हो ।
संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले यस वर्षको सम्मेलनको मूल नारा ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ रहेको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका पहुँच, गुणस्तर र लागतसम्बन्धी चुनौती समाधान गर्न नवप्रवर्तनलाई केन्द्रमा राखेर व्यापक छलफल गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनमा डा कार्कीले सम्मेलन चितवनमा आयोजना हुने तय भएको जानकारी दिदै जहाँ देशभरका चिकित्सक, स्वास्थ्यकर्मी, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागिता रहने बताउनुभयो । उहाँले सम्मेलनमा प्राथमिक स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बीमा तथा मानव संसाधन व्यवस्थापन जस्ता विषयमा विशेष सत्र सञ्चालन हुने बताउनुभयो ।
सम्मेलनको महत्वबारे प्रकाश पार्दै केन्द्रीय अध्यक्ष डा कार्कीले २००७ सालमा स्थापना भएको नेपाल चिकित्सक संघले आफ्नो ७६औँ वर्षको यात्रामा स्वास्थ्य क्षेत्र सुधारका लागि निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले यसपटकको सम्मेलनमा संविधानले प्रत्याभूत गरेको आधारभूत स्वास्थ्य अधिकारलाई कसरी थप सुदृढ बनाउने र स्वास्थ्य क्षेत्रमा विश्वका नयाँ प्रविधि तथा आविष्कारलाई कसरी जोड्ने भन्ने विषयमा केन्द्रित वैज्ञानिक सत्र सञ्चालन हुने जानकारी दिनुभयो ।
भरतपुरलाई सम्मेलन स्थल रोज्नुको कारण खुलाउँदै डा कार्कीले भन्नुभयो, “भरतपुरलाई हामी ‘मेडिकल सिटी’ भनिरहेका छौँ, जहाँ देशकै पुरानो भरतपुर अस्पताल, ठूलो क्यान्सर अस्पताल र दुईवटा मेडिकल कलेज छन् । यस्तो स्वास्थ्य हबमा राष्ट्रिय स्तरको सम्मेलन गर्दा मेडिकल सिटी निर्माणका चुनौती र सम्भावनाबारे पनि बहस हुनेछ ।” उहाँले यो सम्मेलनले चितवनको पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संघका महासचिव डा सञ्जीव तिवारीले एनएमए कनलाई केवल औपचारिक सम्मेलन नभई स्वास्थ्य क्षेत्र सुधारका लागि साझा प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले कन्फ्रेन्सले नीति निर्माणमा सहकार्य, अनुभव आदानप्रदान तथा नवीन समाधानको खोजीमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
भरतपुर घोषणापत्र जारी गर्ने लक्ष्यसहित हुन लागेको यस सम्मेलनले मुलुकको स्वास्थ्य क्षेत्रको नीति निर्माण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । डा तिवारीले देशभरका चिकित्सकहरूका लागि पायक पर्ने स्थान भएकाले पनि चितवन रोजिएको बताउनुभयो । उहाँले चितवन शाखाले यस्तो ठूलो जिम्मेवारी वहन गरेकोमा केन्द्रको तर्फबाट धन्यवाद दिनुभयो ।
नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डा उमेश नेपालले ३०औँ संस्करणको आयोजना गर्ने अवसर चितवनले पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रत्येक तीन वर्षमा हुने यस सम्मेलनमा वैज्ञानिक सत्रहरूसँगै नयाँ निर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम पनि रहने बताउनुभयो । उहाँका अनुसार सम्मेलनका मुख्य प्राज्ञिक तथा वैज्ञानिक कार्यक्रमहरू बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा सञ्चालन हुनेछन् ।
नेपाल चिकित्सक संघ चितवन शाखाका सचिव डा महेन्द्र अग्रहरीले केन्द्रले जिल्लालाई यो महत्वपूर्ण कार्यक्रमको जिम्मेवारी दिएकोमा खुसी व्यक्त गर्नुभयो ।उहाँले यो सम्मेलनले भरतपुरलाई मेडिकल सिटीका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने र जिल्लाका चिकित्सकहरूमा नयाँ ऊर्जा थप्ने बताउनुभयो ।
उहाँका अनुसार सम्मेलनमा विदेशबाट समेत चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी हुने छन् भने देशभरबाट करिब छ सय चिकित्सक र स्वास्थ्य विज्ञहरूको सहभागिता रहने छ । राष्ट्रिय चिकित्सक सम्मेलनमा चिकित्सकहरूले गरेका नयाँ अनुसन्धान तथा खोजपत्रहरू प्रस्तुत गरिने छ भने नयाँ कार्यसमितिलाई औपचारिक रूपमा कार्यभार हस्तान्तरण गरिने छ ।
