काठमाडौं । लामो समयदेखि चितवनमा चिकित्सकीय सेवा र प्राध्यापनमा सक्रिय प्रा.डा. मनोहर प्रधान स्वास्थ्यमन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकार हुने भएका छन्।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उनलाई स्वास्थ्यमन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकार बनाउन लागेको हो ।
चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव सँगालेका डा. प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारको रूपमा नियुक्तिपत्र दिन लागिएको छ। प्रा.डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन्।
‘पदभन्दा पनि काम महत्वपूर्ण हो । जहाँ मेरो आवश्यकता हुन्छ, त्यहाँ जिम्मेवारी लिन तयार छु’ उनले भने। नेपालमा निजी मेडिकल शिक्षाको सुरुवाती चरणमै आफ्नो शैक्षिक यात्रा सुरु गरेका डा. प्रधानले बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरेका हुन्। त्यसपछि विभिन्न सरकारी अस्पतालमा मेडिकल अफिसरका रूपमा काम गर्दै उनले त्रिवि शिक्षण अस्पतालबाट एमडिजीपी गरेका थिए।
