भरतपुर । प्रस्तावित बुलिङटार जेसीजको संयोजनमा श्री पुुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुर र जेसीज शाखा बीच सम्झौता भएको छ । आज (बिहीवार) भरतपुरको होटल ग्लोवलमा एक कार्यक्रमका बीच चितवन, नवलपरासी र तनहूँका शाखा अध्यक्षहरुको सहभागितामा हस्पिटलले प्रदान गर्ने सेवामा छुट सम्बन्धी सम्झौता गरिएको हो ।
कार्यक्रममा चितवनका ११ वटा शाखा,नवलपरासी (बर्दघाट सुस्तापूर्व)का ५ र तनहूँको १ शाखा गरी जम्मा १७ वटा जेसीजका शाखा अध्यक्ष र हस्पिटलको तर्फबाट वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीको उपस्थितिमा सम्झौता भएको बुलिङटार जेसीजका अध्यक्ष जेसी सन्दिप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सम्झौता पत्रमा यस हस्पिटलमा जेसीजका सदस्यहरुले ओपिडी टिकटमा ३० प्रतिशत छुट,प्रयोगशाला सेवा, अप्रेसन सेवा र भर्ना भएका बिरामीको बेड चार्ज लगायतका सेवाहरुमा २० प्रतिशत साथै औषधि खरिदमा ७ प्रतिशत छुट्ट हस्पिटलबाट प्रदान हुने डा.अधिकारीले बताउनु भयो । जेसीजका सदस्यहरु संग स्वास्थ्य सँस्था मार्फत जोडिएर सहकार्य गर्ने यो अवसरले आफूलाई निकै उत्साहित बनाएको उहाँले बताउनु भयोे ।
कार्यक्रमा प्रमुख अतिथि वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारी रहनुभएको थियो । विशिष्ठ अतिथिको रुपमा अस्पतालका व्यबस्थापक सुजन अधिकारी र गैंडाकोट जेसीजका पूर्व अध्यक्ष जेसी कृष्ण हरि सापकोटा रहनुभएको भियो । कार्यक्रम प्रस्तावित बुलिङटार जेसीजका अध्यक्ष जेसी सन्दिप कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । यो सम्झौता प्रत्येक वर्ष आपसी छलफल र सहकार्यमा नवीकरण गरिने अस्पतालका व्यव्स्थापक सुजन अधिकारीले बताउनुभयो ।





