बुलिङटार । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका वडा नं. ०६ स्थित हडाहा सामुदायिक स्वास्थ्य इकाईमा एकदिने नि:शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। बुलिङटार गाउँपालिका कार्यालय र मध्यबिन्दु प्रादेशिक जिल्ला अस्पतालको संयुक्तरूपमा आयोजित उक्त शिविरमा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीहरूको टोलीद्वारा आँखासम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । आँखा जाँच गराउन आएका बिरामीहरूमध्ये १५ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्, जसलाई तत्काल शल्यक्रिया आवश्यक रहेको चिकित्सकहरूले बताएका छन् ।
पहिचान भएका ती सम्पूर्ण १५ जना बिरामीहरूको मध्यबिन्दु प्रादेशिक जिल्ला अस्पतालमा नि:शुल्क रूपमा आँखाको अप्रेसन गरिने व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकहरूका लागि यस्तो सेवा अत्यन्त राहतपूर्ण र प्रभावकारी भएको स्थानीयवासीहरूले बताएका छन् ।
स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको शिविरले ग्रामीण क्षेत्रमा रहेका नागरिकहरूलाई प्रत्यक्ष लाभ पुगेको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनु भयो ।
