मृदुभाषी एवं सरल स्वभावका डा. सुदीप श्रेष्ठ नेपालमा क्यान्सर उपचारको क्षेत्रमा आफ्नो समर्पण र अनुभवका कारण परिचित हुनुहुन्छ । उहाँ हाल नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्रा.लि. हरिसिद्धि, ललितपुरमा कार्यरत हुनुहुन्छ । क्यान्सरका हजारौँ बिरामीको जीवन बचाएर उहाँ आशाको किरण बन्नु भएको छ । डा. श्रेष्ठको जीवनले देखाउँछ कि चिकित्सा केवल पेशा मात्र होइन, मानवताको सर्वोच्च सेवा पनि हो ।
प्रारम्भिक जीवन र प्रेरणा
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. श्रेष्ठको जन्म सामान्य परिवारमा भएको हो । समाजमा क्यान्सर जस्ता जटिल रोगसँग जुधिरहेका मानिसहरूको अवस्था देख्दा उहाँको मनमा जीवन बचाउने चाहना जाग्यो ।
उहाँको चिकित्सा यात्रा त्यस्तै प्रेरणा र दृढ संकल्पबाट सुरु भयो । जवाहरलाल इन्ष्टिच्युट अफ पोष्ट ग्रयाजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (मद्रास विश्वविद्यालय, भारत) बाट एमबिबिएस पूरा गरेपछि डा. श्रेष्ठले इन्टरनल मेडिसिनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट एमडी तहको पढाइ पूरा गर्नुभयो । त्यसपछि श्रेष्ठले मेडिकल अंकोलोजीमा एड्भान्स्ड पोष्ट ग्रयाजुएट तालिम सकेर आफ्नो विशेषज्ञता क्यान्सर ९अङ्कोलोजी० क्षेत्रमा विकास गर्नुभयो । उहाँको सोच केवल सैद्धान्तिक ज्ञानमा मात्र सीमित थिएन, व्यावहारिक र क्लिनिकल अनुभवमा पनि उहाँ दक्ष हुनुहुन्थ्यो । यही कारणले क्यान्सर रोगका समस्याहरूलाई आत्मविश्वाससहित बिरामीलाई क्यान्सर रोगबाट परास्त गर्न उहाँ सफल हुनुभयो ।
क्यान्सर अस्पतालसँगको यात्रा
नेपालका क्यान्सर अस्पतालसँगको उहाँको यात्रा पेशागत जीवनमा एउटा महत्वपूर्ण मोड बनेको छ । नेपालमा रही डा. श्रेष्ठले हजारौँ बिरामीको उपचारमा प्रत्यक्ष संलग्नता जनाउनु भएको छ । क्यान्सरको नाम सुन्नासाथ धेरै बिरामीहरूमा डर र निराशा उत्पन्न हुन्छ । डा. श्रेष्ठको सकारात्मक दृष्टिकोण, स्पष्ट परामर्श र संवेदनशील व्यवहारले बिरामीहरूमा आशा जगाउँछ । उहाँले बिरामीलाई मानसिक र भावनात्मकरुपमा सेवा प्रदान गर्नुहुन्छ ।
“डाक्टर साबसँग कुरा गरेपछि आधा रोग त निको भएको जस्तो लाग्छ”, धेरै बिरामीले यस्तै भन्छन् । यो विश्वास र आशाको सम्बन्ध केवल उपचारमा सीमित छैन, बरु मानवता र करुणामा आधारित छ । मनमा क्यान्सर रोगलाई जित्ने आशाले आएका बिरामी र तिनका आफन्तसँग जब डा. सुदीप श्रेष्ठले रोग र उपचारका सम्भावनाका कुरा गर्नुहुन्छ, बिरामीले आफ्नो क्यान्सर रोगलाई परास्त गर्ने आत्मविश्वास पाउँछन् ।
डा. सुदीप श्रेष्ठको सबैभन्दा ठूलो विशेषता भनेको उहाँको मानवीय दृष्टिकोण हो । उहाँ बिरामीलाई केवल ‘रोगी’ को रूपमा होइन, एउटा जीवनको रूपमा हेर्नुहुन्छ । उपचारको क्रममा बिरामीको मानसिक अवस्था, पारिवारिक परिस्थिति र आर्थिक अवस्थाका साथै उनीहरू कुन ठाउँबाट आएका हुन् भन्ने कुरा ध्यानमा राखेर योजना बनाउनु उहाँको अर्को विशेषता हो । उहाँले बिरामीको अवस्था बुझेर उपचार विधि छनोट गर्नुहुन्छ र जहाँ आवश्यक हुन्छ, वित्तीय सहयोग र अन्य सामाजिक सहयोग पनि सुनिश्चित गर्नुहुन्छ । त्यसैले उहाँको उपचार केवल शारीरिक रोग निको पार्ने मात्र नभई मानसिक बल र आत्मविश्वास दिने खालको छ ।
जनचेतना र समाजसेवा
नेपालमा क्यान्सरका धेरैजसो बिरामीहरू ढिलो अस्पताल आउने गर्छन्, जसले उपचारको प्रभावकारिता घटाउँछ । डा. श्रेष्ठले यसलाई मध्यनजर गर्दै विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । उहाँले सञ्चारमाध्यम, स्वास्थ्य शिविर र सार्वजनिक कार्यक्रममा क्यान्सरका प्रारम्भिक लक्षण, समयमै जाँचको महत्व र उपचार विकल्पबारे जानकारी दिनुहुन्छ । उहाँका प्रयासले धेरैलाई समयमै जाँच गराउन प्रेरित समेत गरेको पाइन्छ ।
चुनौती र संघर्ष
सामान्यतया क्यान्सर रोगको उपचार सजिलो छैन । नेपालमा स्रोत–साधनको अभाव, महँगो उपचार र बिरामीहरूको ढिलो आगमनले चिकित्सकहरूलाई चुनौती दिने गर्छ । डा. श्रेष्ठले आफ्नो यात्रामा यस्ता चुनौतीहरूको सामना गर्नु भएको छ । कतिपय अवस्थामा आर्थिक अभावका कारण बिरामीले उपचार रोक्नुपरेको देख्दा उहाँ भावुक हुनुहुन्छ तर यस्ता कठिनाइबीच पनि उहाँले आफ्नो सेवाभाव कम हुन दिनुभएको छैन । उहाँ भन्नुहुन्छ, “चुनौती जति धेरै भए पनि बिरामीको जीवन जोगाउनु र पेशागत कर्तव्य बोध गर्नु मेरो प्राथमिकता हो ।”
समयसँगै क्यान्सर उपचारमा नयाँ–नयाँ प्रविधिहरू विकास हुँदै आएका छन् । डा. श्रेष्ठले आधुनिक प्रविधिहरू आत्मसात गर्दै बिरामीलाई उत्कृष्ट सेवा दिनुहुन्छ । उहाँ अनुसन्धानमुखी सोचका साथ नयाँ औषधि र उपचार विधिको अध्ययन गर्नुहुन्छ र व्यवहारमा लागू गर्नुहुन्छ । यसले नेपाली स्वास्थ्य क्षेत्रमा क्यान्सर उपचारको स्तर बढाउन महत्वपूर्ण योगदान दिएको छ ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिलाई नेपालमा प्रयोगयोग्य बनाउने प्रयास उहाँको अर्को विशेषता हो । श्रेष्ठ आबद्ध नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धि ललितपुरमा माथि उल्लेख गरिएका जस्तै क्यान्सर रोगको पहिचान र उपचारका लागि आवश्यक अन्तर्राष्ट्रिय स्तरका अत्याधुनिक प्रविधिहरूबाट बिरामीलाई सेवा दिइन्छ ।
बिरामीसँग भावनात्मक सम्बन्ध
क्यान्सर उपचार लामो र कठिन प्रक्रिया हो । यस क्रममा बिरामी र चिकित्सकबीच गहिरो सम्बन्ध बन्ने गर्छ, जुन अति आवश्यक पनि छ । डा. श्रेष्ठले धेरै बिरामीसँग यस्तो सम्बन्ध बनाउनु भएको छ, जसले उपचारलाई प्रभावकारी बनाएको छ ।
उहाँका धेरै बिरामी उपचारपछि पनि उहाँसँग सम्पर्कमा रहन्छन् । आफ्नो जीवनका महत्वपूर्ण क्षणहरूमा उहाँलाई सम्झन्छन् । यो सम्बन्ध विश्वास, सम्मान र मानवतामा आधारित छ ।
डा. श्रेष्ठले आफ्नो पेशालाई केवल व्यवसायको माध्यम नभई समाजसेवाको माध्यमका रूपमा लिनुभएको छ । उहाँ विभिन्न स्वास्थ्य शिविरहरूमा निःशुल्क सेवा दिनुहुन्छ । आर्थिकरूपमा कमजोर बिरामीलाई सहयोग गर्न सधैं तत्पर रहनुहुन्छ उहाँ ।
डा. सुदीप श्रेष्ठको लक्ष्य केवल व्यक्तिगत सफलता होइन । उहाँ नेपालमा क्यान्सर उपचारलाई सुलभ, गुणस्तरीय र प्रभावकारी बनाउन चाहनुहुन्छ । आधुनिक प्रविधिसहितको उपचार प्रणाली विकास गर्नु, जनचेतना अभिवृद्धि गर्नु र दक्ष जनशक्ति उत्पादनमा योगदान दिनु उहाँको प्रमुख उद्देश्य हो ।
उहाँको सपना छ — नेपालमै विश्वस्तरीय क्यान्सर उपचार सेवा उपलब्ध गराउने, जसका लागि बिरामीहरूले विदेश जान नपरोस् । यो सपना पूरा गर्न उहाँले निरन्तर अध्ययन, अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय गर्दै आउनु भएको छ ।
डा. श्रेष्ठले भक्तपुर क्यान्सर अस्पताल, क्यान्सर केयर सेन्टर काठमाडौँ, ओम अस्पताल तथा अनुसन्धान केन्द्र काठमाडौँमा काम गरिसक्नु भएको छ । उहाँ नेपाल क्यान्सर सपोर्ट समूह काठमाडौँ, इन्टरनेशनल नेटवर्क फर क्यान्सर ट्रिटमेन्ट एन्ड रिसर्च, अमेरिकन सोसाइटी अफ क्लिनिकल अंकोलोजी, सार्क फेडेरेसन अफ अंकोलोजिष्ट र एसियन क्लिनिकल अंकोलोजी सोसाइटीलगायत दर्जनौँ संस्थाहरूमा आबद्ध हुनुहुन्छ ।
श्रेष्ठको परिकल्पना नेपालमै क्यान्सर रोगको उच्चस्तरीय उपचार सस्तो र सरल तरिकाले सबै वर्गले सहजरुपमा सेवा लिने र दिने गरी विकास होस् भन्ने रहेको छ । उनको यो परिकल्पना साकार पार्न सरकारी तवरबाट पनि सहयोग आवश्यक छ । यदि यो परिकल्पना पूरा गर्न सकियो भने क्यान्सर रोगको उपचारका लागि कुनै पनि नेपाली विदेश जानु पर्ने छैन ।
