चितवन जिल्लाको भरतपुर महानगरपालिकालाई त्यसै मेडिकल सिटी भनिएको होइन । भरतपुरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज (सिएमएस) शिक्षण अस्पताल, चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पताललगायत अन्य दर्जनौँ निजी अस्पतालहरू रहेका छन् । यी अस्पतालहरूको भिडमा एउटा यस्तो अस्पताल पनि छ, जुन पाँच वर्षदेखि निरन्तर मुटुरोगीहरूको सेवामा समर्पित छ । उक्त अस्पतालको नाम हो, चितवन मुटु अस्पताल प्रा. लि. ।
भरतपुर महानगरपालिका वडा नम्बर १०, दूरसञ्चाररोडमा रहेको चितवन मुटु अस्पताल मुटु रोगसम्बन्धी सेवामा केन्द्रित एक अति विशिष्टिकृत (सुपरस्पेसालिटी) अस्पताल हो । यो अस्पताल निदानात्मक तथा उपचारात्मक स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएको छ । सन् २०२१ मा उच्च दक्ष र प्रतिबद्ध स्वास्थ्यकर्मीहरूको समूहद्वारा नेपालको विभिन्न क्षेत्रमा रहेका मुटु रोगीहरूलाई विशेष सेवा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको यो अस्पताल काठमाडौँ बाहिर बागमती प्रदेशकै पहिलो मुटु अस्पताल हो ।
गुणस्तरीय स्वास्थ्य सेवा उचित र सर्वसुलभ लागतमा उपलब्ध गराउन सधैँ समर्पित र प्रतिबद्ध रहेको चितवन मुटु अस्पतालबाट अहिलेसम्म नेपालको मेचीदेखि महाकालीसम्मका बिरामीहरूले स्वास्थ्य सेवा लिइसकेको अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी बताउनुहुन्छ । मुटुरोगका बिरामीहरू उपचारका लागि राजधानी काठमाडौँ जानु पर्ने बाध्यता हटाउनका लागि भरतपुरमा चितवन मुटु अस्पताल सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।
यस अस्पतालको मुख्य उद्देश्य मुटुरोगका बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट तथा विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो । चितवन मुटु अस्पतालले नियमितरूपमा बाह्य पहुँच कार्यक्रमहरू (जस्तै : स्वास्थ्य शिविर, सामुदायिक स्वास्थ्य सचेतना कार्यक्रम) तथा स्वास्थ्यकर्मीहरूका लागि तालिम कार्यक्रम आयोजना गर्दै आएको छ, जसले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवाको गुणस्तर सुधारमा योगदान पुर्याइरहेको छ ।
हृदय तथा रक्तनलीसम्बन्धी (कार्डियोभास्कुलर) रोगहरूलाई विश्वभर नै नसर्ने रोगका कारण हुने मृत्युको प्रमुख कारणका रूपमा लिइन्छ । नेपाल पनि यसबाट अछुतो छैन । सहरी मात्र होइन, ग्रामीण क्षेत्रमा बस्नेहरू समेत मुटु रोगको जोखिमले प्रभावित हुँदै गइरहेका छन् । केही समुदायमा देखिने आनुवंशिक प्रवृत्तिका साथै निष्क्रिय जीवनशैली र पेशागत बानीका कारण उच्च रक्तचाप, मधुमेह, डिस्लिपिडेमिया, मोटोपना, जंक फुडको अत्यधिक सेवन, वातावरणीय प्रदूषण, धूम्रपान तथा मद्यपान जस्ता जोखिम कारकहरू उल्लेखनीयरूपमा बढ्दै गएका छन् ।
मुटुरोगका बिरामीलाई उच्चस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले चितवन मुटु अस्पतालले सात बेडको हृदय सघन उपचार कक्ष (कोरोनरी केयर युनिट) सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष डा. शंकर लौडारीले जानकारी दिनुभयो । यस अस्पतालमा दुई जना डिएम कार्डियोलोजिष्टसहित चिकित्सकहरूको टिम रहेको छ, जसले मुटुसम्बन्धी मेडिकल र सर्जरी सेवा दिँदै आएको छ । यस अस्पतालमा जनरल मेडिकल अफिसरहरू पनि कार्यरत छन् । यस अस्पतालमा इसिजी, इको, टिएमटी, होल्टर, एबिपिएम, क्याथ ल्याब, एन्जियोग्राम, एन्जियोप्लास्टी र पेसमेकर सेवा उपलब्ध रहेको अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माले बताउनुभयो ।
चिकित्सा विज्ञानको एक महत्वपूर्ण शाखा कार्डियोलोजी पछिल्ला वर्षहरूमा अत्यन्त तीव्ररूपमा विकास भएको छ । आधुनिक डायग्नोस्टिक प्रविधिहरूले रोगको सटिक पहिचान र मूल्याङ्कन सम्भव बनाएका छन् । इन्टरभेन्सनल तथा शल्यक्रियात्मक विधिहरूमा भएको प्रगतिले जीवनप्रति आशा गुमाइसकेका लाखौँ बिरामीहरूको ज्यान बचाउन सफल भएको छ । केही दशकअघि कल्पनामा मात्र सीमित रहेका शल्यक्रियाहरू आज सहजरूपमा सम्भव भएका छन् । हृदय तथा रक्तनलीसम्बन्धी रोगहरूको गहिरो अनुसन्धान र समर्पित अध्ययनले यो उपलब्धि सम्भव भएको हो । कार्डियाक क्याथेटराइजेसनले चिकित्सकलाई रोगको पहिचान र उपचारमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको छ भने आधुनिक समयमा शल्यक्रियाबिना गरिने (नन्–इनभेजिभ) विधिहरूलाई प्राथमिकता दिइँदै आएको छ ।
चितवन मुटु अस्पताल बागमती प्रदेशमा (राजधानीबाहेक) सुपरस्पेसालिटी मुटु सेवा तथा सम्बन्धित परीक्षण र उपचार सुविधा उपलब्ध गराउने अग्रणी संस्थामध्ये एक हो । “यस संस्थालाई सफलतापूर्वक स्थापना गर्न सहयोग गर्ने सम्पूर्ण लगानीकर्ता तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं” अस्पतालका अध्यक्ष डा. शंकर लौडारी भन्नुहुन्छ, “हाम्रो उत्साही र समर्पित टोलीले यस क्षेत्रमा मुटुरोग उपचार सेवामा महत्वपूर्ण योगदान पुर्याउनेमा हामी विश्वस्त छौं । समयसँगै यस यात्रामा छोडिएका हाम्रा पाइला भविष्यका गन्तव्यहरूका लागि मार्गदर्शक बन्ने विश्वास पनि लिएका छौं ।”
चितवन मुटु अस्पतालले मुटुरोगसँग सम्बन्धित बिरामीहरूलाई बहिरङ्ग (ओपिडी), अन्तरङ्ग (आइपिडी), क्रिटिकल केयर, आकस्मिक (इमरजेन्सी), प्रयोगशाला र फार्मेसी सेवा दिँदै आएको छ । “हामीले ओपिडीमा दैनिक औसत ४० जना बिरामीहरूलाई सेवा दिँदै आएका छौँ” वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लौडारी भन्नुहुन्छ, “अस्पताल स्थापना भएदेखि अहिलेसम्म करिब ६ सय स्टेन्ट र सय वटा जति पेसमेकर बिरामीको शरीरमा राख्न सफल भएका छौँ ।”
यसबाहेक विद्यालयमा अध्ययनरत बालबालिकालाई मुटुको बाथरोग छ कि छैन ? उनीहरूमा जन्मजात मुटुसम्बन्धी समस्याहरू (मुटुमा प्वाल परेको, धमनी साँघुरो भएकोलगायत) छ कि छैन ? भनी विद्यालयमै गएर शिविर आयोजना गरी परीक्षण गर्दै आएको डा. लौडारीले जानकारी दिनुभयो । उहाँका अनुसार, अहिलेसम्म चितवन, नवलपरासी, पर्सा, मकवानपुरलगायत सात वटा जिल्लामा ९० हजारभन्दा बढी विद्यार्थीको मुटु परीक्षण (स्क्रिनिङ) गरिएको छ । चितवन मुटु अस्पतालले लायन्स क्लब, रोटरी क्लब, नेशनल हार्ट एन्ड लङ सोसाइटीलगायत विभिन्न सामाजिक संघसंस्थासँगको सहकार्यमा मुटुसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम पनि गर्दै आएको छ ।
भरतपुरको सहरी क्षेत्रमा मुटु रोगको बढ्दो प्रवृत्तिलाई मध्यनजर गर्दै भरतपुरमा स्थापना गरिएको चितवन मुटु अस्पतालले चितवन तथा छिमेकी जिल्लाका लाखौँ सेवाग्राहीलाई सहज, पहुँचयोग्य र गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
