चितवन । नेशनल सिटी अस्पताल लिमिटेड, भरतपुरले संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तीन दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । संक्रमण रोकथाम तथा नियन्त्रण कार्यमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको यो तालिम शुक्रबारदेखि आईतबारसम्म सञ्चालन हुनेछ ।
तालिम कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश स्वास्थ्य मन्त्रालय तालिम केन्द्र टेकुका निर्देशक दिपक तिवारी रहनु भएको थियो । प्रमुख अतिथि तिवारीले कार्यक्रममा बोल्दै स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रण अत्यन्त संवेदनशील विषय भएकाले यस्ता तालिमलाई निरन्तर सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “प्रदेश अस्पतालबाट समेत विभिन्न स्वास्थ्य संस्थाहरूमा यस्ता तालिम विस्तार गर्दै लैजाने योजना रहेको छ । यसरी सरकारी र निजी दुवैखाले स्वास्थ्य संस्थाहरुबाट सेवा प्रदान गर्न सकिएमा धेरै राम्रो हुनेछ ।”
आजबाट सञ्चालन भएको तालिममा प्रशिक्षकहरू विष्णु कुमारी श्रेष्ठ, कमला रेग्मी, गोमा राई र सुमित्रा पराजुलीले संक्रमण रोकथाम, स्वास्थ्य संस्थाभित्र अपनाउनुपर्ने सुरक्षा सतर्कता, सरसफाइ व्यवस्थापन, व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग तथा बिरामी र स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विषयमा सहजीकरण गर्नु हुनेछ । अस्पतालका प्रबन्ध निर्देशक विक्रम अधिकारीका अनुसार तालिमपछि कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि हुनुका साथै सुरक्षित कार्यशैलीमा थप विकास पुग्नेछ ।
तालिम कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरुलाई अस्पतालका अध्यक्ष प्रचण्ड लाल प्रधान र वरिष्ठ र्मिगौला रोग विशेषज्ञ डा. निर्मल लामिछानेले शुभकामना व्यक्त गर्दै अस्पताल प्रशासनले भविष्यमा पनि यस्ता क्षमता अभिवृद्धि तथा दक्षता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको थियो ।
अस्पतालले गुणस्तर स्वास्थ्य सेवामार्फत विरामीमैत्री वातावरण निर्माण गर्नका लागि सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरूमा यसखाले तालिमबाट व्यावहारिक ज्ञान र कार्यसम्पादनलाई कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।


