भरतपुर । महिलाहरूको यौनाङ्ग (योनी) बाट लगातार फोहोरपानी वा असामान्य स्राव बग्ने समस्या देखिएमा त्यसलाई सामान्य ठानेर बेवास्ता गर्न नहुने स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सरिता राना गुरुङले बताएकी छन्। उनका अनुसार यस्तो समस्या पाठेघरको मुखको क्यान्सरसहित विभिन्न स्त्रीरोगको संकेत हुन सक्छ।
डा. गुरुङका अनुसार सामान्य अवस्थामा महिलाको यौनाङ्गबाट थोरै मात्रामा सेतो स्राव निस्कनु प्राकृतिक प्रक्रिया हो। तर स्रावको मात्रा अत्यधिक हुनु, दुर्गन्ध आउनु, रगत मिसिनु, पहेँलो वा हरियो रंगको हुनु तथा लामो समयसम्म निरन्तर बगिरहनु भने स्वास्थ्य समस्याको संकेत हुन सक्छ।
“धेरै महिलाले फोहोर पानी बग्ने समस्यालाई सामान्य ठानेर उपचार गर्न ढिलाइ गर्नुहुन्छ,” उनले भनिन्, “तर कतिपय अवस्थामा यो पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक लक्षण पनि हुन सक्छ, त्यसैले समयमै जाँच गराउनु आवश्यक हुन्छ।”
उनका अनुसार पाठेघरको मुखको क्यान्सर सुरुआती चरणमा धेरैजसो लक्षणविहीन हुन सक्छ। तर असामान्य यौन स्राव, यौन सम्पर्कपछि रगत बग्ने, महिनावारी बाहेक अन्य समयमा रक्तस्राव हुने, तल्लो पेट दुख्ने जस्ता लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ।
डा. गुरुङले नियमित स्वास्थ्य परीक्षण, पाठेघरको मुखको क्यान्सर पहिचानका लागि प्याप स्मियर परीक्षण तथा आवश्यक परे एचपीभी परीक्षण गराउन सुझाव दिएकी छन्। उनका अनुसार प्रारम्भिक चरणमै रोग पत्ता लागेमा उपचार प्रभावकारी हुने र निको हुने सम्भावना धेरै हुन्छ।
उनले एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) संक्रमण पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण भएको बताउँदै किशोरी तथा युवतीहरूलाई एचपीभी खोप लगाउन पनि आग्रह गरिन्।
महिलाहरूले आफ्नो प्रजनन स्वास्थ्यप्रति सचेत रहन, असामान्य लक्षण देखिएमा लाज वा संकोच नमानी स्वास्थ्य संस्थामा पुगेर जाँच गराउनुपर्ने डा. गुरुङको सुझाव छ। समयमै परीक्षण र उपचारले पाठेघरको मुखको क्यान्सरलगायत धेरै गम्भीर रोगबाट जोगिन सकिने उनको भनाइ छ।
