बुलिङटार– रोगबाट बच्न सचेतना,रोगको पहिचान र उपचार सेवाबाट वञ्चित भएका ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गर्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
बुलिङटार गाउँपालिका र स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा लि भरतपुरको आयोजनामा नवलपरासी जिल्ला, बर्दघाट सुस्तापुर्वमा रहेको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा यही शनिवारका दिन एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा पेट रोग,उच्चरक्तचाप,मधुमेह,दम रोग र नशा तथा हाडजोर्नी रोगबाट प्रभावित १८५ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
शिविरमा वरिष्ठ चिकित्सक डा. बरुण श्रेष्ठको चिकित्सकीय टोलीमा डा.हिमाल खत्री, डा.सन्तोष थापा,साथै ईश्वरी पाण्डे,अनिता खण्डलुक,सीमा भण्डारी,अञ्जना घिमिरे,निरु डिसुवा र हरी कुमार सारु लगायत स्वास्थ्यकर्मीको टिमले बिरामीको स्वास्थ्य चेकजाँच गर्नु भएको हो।
बरिष्ठ चिकित्सक श्रेष्ठका अनुसार स्वास्थ्य जाँच गर्न आहुने विरामीहरु प्राय सबै जेष्ठ नागरिक रहनुभएको र उहाँहरु मधुमेह उच्चरक्तचाप,दम रोग साथै नशा तथा हाडजोर्नी रोगबाट प्रभावित हुनुभएको बताउनु भयो । साथै नेशनल सिटी हस्पिटलका प्रबन्ध निर्देशक बिक्रम अधिकारीले थप उपचारका लागि अस्पताल जानुपर्ने बिरामीहरूलाई सबै हिसाबले हस्पिटलले सहजीकरण गर्ने बताउनु भयो ।
शिविरको स्थानीय संयोजन प्रस्तावित बुलिङटार जेसीज र गंगा स्वास्थ्य दर्पण फाउण्डेसन नेपालले गरेको थियो ।भने नेशनल सिटी हस्पिटल भरतपुर, क्वेस्ट फर्मास्यूटिकल्स् प्रा लि र देउराली जनता फर्मास्यूटिकल्स् प्रा लि काठकाण्डौंको प्राविधिक सहयोग रहेको थियो ।
नेशनल सिटी हस्पिटलका वरिष्ठ चिकित्सक डा. बरुण श्रेष्ठको प्रमुख आतिथ्यतामा संचालित औपचारिक कार्यक्रममा यसै पालिका वडा नं ३ का अध्यक्ष बिष्णु बिर जर्गा, स्वास्थ्य शाखा प्रमुख अशोक कुमार श्रेष्ठ, नेशनल सिटी हस्पिटलका प्रबन्ध निर्देशक बिक्रम अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीको अध्यक्ष्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
आफू यसै पालिकाको नागरिक भएकाले पनि यस प्रकारका कार्यक्रमलाई आगामी दिनहरुमा स्थानीय संग छलफल गरी अझ योजनाबद्ध तरिकाले निरन्तरता दिँदै सबै वडाहरूमा रोगबारे सचेतना सहितका स्वास्थ्य सम्बन्धित कार्यक्रमहरु संचालन गर्ने बुलिङटार जेसीजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले बताउनु भयो ।