चितवन । ग्रामीण भेगका नागरिकलाई लक्षित गरी एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । इच्छाकामना जेसीज र मस्र्याङ्दी शिक्षा सदन सेकेन्डरी स्कुलको संयुक्त आयोजनामा शिविर कार्यक्रम सञ्चालन गरिएको हो ।
शिविरमा वरिष्ठ फिजिसियन डा. प्रशान्त पौडेलको नेतृत्वमा फर्मासिस्ट पूजा नेपाली, नर्स डिक्ष्या परियार, ल्याब टेक्निसियन सञ्जीप यादव तथा रेस्पिरेटरी काउन्सिलर विक्रम साहलगायतले बिरामीहरूको स्वास्थ्य परीक्षण गर्नुभएकोबारे इच्छाकामना जेसीजकी संस्थापक अध्यक्ष जेसी गोमा लुइटेलले जानकारी दिनुभयो । शिविरबाट ८५ जना स्थानीय नागरिक लाभान्वित भएका छन् ।
इच्छाकामना जेसीजकी अध्यक्ष जेसी रञ्जिता सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इच्छाकामना गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल प्रमुख अतिथि तथा सोही गाउँपालिका–५ का वडा अध्यक्ष तेजबहादुर शेरचन विशिष्ट अतिथिका रूपमा उपस्थित रहेको थियो ।
कार्यक्रममा स्थानीयवासी तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो ।
