मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवाभाव, अनुभव र समर्पणका साथ सक्रिय चिकित्सकका रूपमा परिचित नाम हो डा. निरजकुमार सिंह । फिजिसियन चिकित्सकको रूपमा लामो समयदेखि स्वास्थ्य सेवामा क्रियाशील उहाँले बिरामीको उपचार, जनस्वास्थ्य सचेतना तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ । वीरगञ्ज तथा आसपासका क्षेत्रमा उहाँलाई भरोसायोग्य र सेवाप्रति कटिबद्ध चिकित्सकका रूपमा चिन्ने गरिन्छ ।
स्वास्थ्य सेवा क्षेत्रलाई केवल पेशा नभई मानव सेवाको माध्यमका रूपमा लिने डा. सिंह बिरामीप्रतिको आत्मीय व्यवहार र जिम्मेवार तरिकाको उपचार शैलीका कारण धेरैको विश्वास जित्न सफल हुनुभएको छ । विशेषगरी दीर्घरोग, मधुमेह, उच्च रक्तचाप, ज्वरो, संक्रमणलगायत विभिन्न जटिल स्वास्थ्य समस्याका बिरामीलाई सहज र प्रभावकारी उपचार सेवा प्रदान गर्दै उहाँ निरन्तर सक्रिय रहनुभएको छ ।
वीरगञ्ज नेपालकै प्रमुख व्यापारिक तथा औद्योगिक शहरमध्ये एक हो । तीव्र जनसंख्या वृद्धि, प्रदूषण, व्यस्त जीवनशैली र बदलिँदो खानपानका कारण यहाँ विभिन्न स्वास्थ्य समस्या बढ्दो अवस्थामा छन् । यस्तो परिस्थितिमा अनुभवी फिजिसियनको भूमिका अत्यन्त महत्वपूर्ण हुने गर्दछ । डा. निरजकुमार सिंहले यस्तै चुनौतीपूर्ण अवस्थामा हजारौं बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिनुभएको छ ।
डा. सिंहले बिरामीको रोग पहिचान र उपचारमा वैज्ञानिक तथा व्यावहारिक अभ्यास अपनाउने गर्नुभएको देखिन्छ । धेरै बिरामी उपचारका लागि आउँदा मानसिकरूपमा समेत तनावमा हुने भएकाले बिरामीलाई आत्मविश्वास दिलाएर उपचार प्रक्रिया अगाडि बढाउनु चिकित्सकको दायित्व भएको उहाँ बताउनुहुन्छ । यही कारण उहाँको व्यवहार र उपचारशैलीप्रति बिरामीहरू सन्तुष्ट देखिन्छन् ।
उपचार सेवासँगै जनस्वास्थ्य सचेतना फैलाउने कार्यमा पनि डा. सिंह सक्रिय रहनुभएको छ । समयमै स्वास्थ्य परीक्षण, नियमित व्यायाम, सन्तुलित खानपान तथा जीवनशैली व्यवस्थापनमार्फत धेरै रोगबाट बच्न सकिने सन्देश उहाँले निरन्तर दिँदै आउनुभएको छ । उहाँका अनुसार अहिले धेरै मानिसमा मधुमेह, उच्च रक्तचाप, मुटुरोग तथा मोटोपन जस्ता समस्या बढ्दै गइरहेको छ, जसको मुख्य कारण अस्वस्थ जीवनशैली हो ।
विशेषगरी मौसम परिवर्तनसँगै देखिने संक्रमणजन्य रोग, डेंगु, टाइफाइड, भाइरल ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको उपचारमा पनि उहाँ सक्रिय रहनुभएको छ । समयमै परीक्षण र उपचार गर्न सके धेरै जटिल स्वास्थ्य अवस्थाबाट बच्न सकिने उहाँको धारणा छ ।
डा. निरजकुमार सिंह स्वास्थ्य क्षेत्रको विकासका लागि आधुनिक प्रविधि र गुणस्तरीय उपचार प्रणाली आवश्यक रहेको बताउनुहुन्छ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन चिकित्सक, स्वास्थ्यकर्मी र बिरामीबीच विश्वासको सम्बन्ध बलियो हुनुपर्ने उहाँको भनाइ छ । बिरामीको समस्या ध्यानपूर्वक सुन्ने र सही परामर्श दिने बानीले उपचारमा सकारात्मक परिणाम आउने उहाँको अनुभव छ ।
उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्वास्थ्य शिविर, निःशुल्क परामर्श कार्यक्रम तथा स्वास्थ्य सचेतनामूलक गतिविधिमा पनि सहभागिता जनाउँदै आउनुभएको छ । ग्रामीण क्षेत्रका तथा आर्थिक अवस्था कमजोर भएका बिरामीलाई स्वास्थ्य सेवा पहुँचमा ल्याउनुपर्ने आवश्यकता उहाँले विभिन्न अवसरमा औंल्याउने गर्नुभएको पाइन्छ । डा. सिंहले कोभिड १९ को महामारीको समयमा चिकित्सकको रुपमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । उहाँले नेपाल चिकित्सक संघको मधेश प्रदेश संयोजक र केन्द्रीय उपाध्यक्षको नेतृत्व समाल्नुभएको थियो ।
डा. निरजकुमार सिंह बिरामीको उपचारमा जति सक्रिय हुनुहुन्छ, त्यति नै चिकित्सकहरूप्रति परेका समस्याहरूलाई समाधान गर्नका लागि सतिसाल जस्तै उपस्थिति देखाउने उहाँको व्यवहारका कारण पनि उहाँ सबैको प्रिय चिकित्सक बन्न सफल हुनुभएको छ ।
व्यस्त चिकित्सकीय जीवनका बाबजुद पनि उहाँ बिरामीको सेवामा निरन्तर समर्पित देखिनुहुन्छ । दिनहुँ ठूलो संख्यामा बिरामीको उपचारमा संलग्न हुँदा बिरामीसँग आत्मीय व्यवहार गर्नु उहाँको विशेषता मानिन्छ । यही सेवाभावका कारण उहाँ वीरगञ्जका लोकप्रिय चिकित्सकमध्ये एकका रूपमा स्थापित हुनुभएको छ ।
डा. सिंहका अनुसार अहिले स्वास्थ्य क्षेत्रमा चुनौतीसँगै अवसर पनि बढिरहेका छन् । नयाँ प्रविधि, आधुनिक उपचार प्रणाली र जनचेतनाको विकासले स्वास्थ्य सेवा अझ प्रभावकारी बन्दै गएको उहाँको बुझाइ छ । तर स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउन अझै धेरै प्रयास आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
वीरगञ्जको स्वास्थ्य क्षेत्रमा डा. निरजकुमार सिंहले पुर्याउनुभएको योगदान प्रेरणादायी मानिन्छ । बिरामीप्रतिको समर्पण, जिम्मेवार उपचार सेवा र समाजप्रतिको सकारात्मक सोचका कारण उहाँले स्वास्थ्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गर्नुभएको छ । स्वास्थ्य सेवा नै मानव सेवाको सबैभन्दा ठूलो माध्यम हो भन्ने सोचका साथ निरन्तर सक्रिय उहाँजस्ता चिकित्सकको योगदान समाजका लागि महत्वपूर्ण रहँदै आएको छ ।
मधेश जन्मथलो भएका सयौं नेपालका वरिष्ठ चिकित्सकहरू जन्मथलो बाहिर कर्ममा रमाइरहेको देखिन्छ । तर डा. निरजकुमार सिंहले काठमाडौँमा पेशागत सुनौलो अवसर त्याग्नुभयो । उहाँ आफ्नो मेडिकल अध्ययन सकेर आफू जन्मेको, बढेको, पढेको क्षेत्रलाई नै कर्मथलो बनाई जनतालाई स्वास्थ्य सेवा दिने र सचेत गराउने अभियानमा सक्रिय हुनुहुन्छ ।
