गोरखा । विकटका नागरिकलाई गाउँघरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गोरखाको भिमसेनथापा गाउँपालिकामा एकदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंको प्राविधिक सहयोगमा धावा स्वास्थ्य चौकी गोरखामा शिविर सञ्चालन गरिएको हो । ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षा र पहुँचलाई केन्द्रित गरेर आयोजना गरिएको उक्त शिविरबाट ३ सय १७ जना लाभान्वित भएका छन् ।
शिविरमा बालरोग, पाठेघरको मुखको क्यान्सर परीक्षण, स्त्रीरोग तथा जनरल फिजिसियनलगायतका सेवा निःशुल्क प्रदान गरिएको कार्यक्रम संयोजक उत्तम अधिकारीले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षणका क्रममा बिरामीको रोगको प्रकृति हेरी आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो । जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
कार्यक्रममा मुनलाइट सोसाइटी नेपालको सहकार्य रहेको थियो ।
