काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको आयोजना तथा नेप्लीज सोसाइटी अफ न्युरोसर्जन्सको सहयोगमा आयोजित अन्तर्राष्ट्रिय न्युरो-अंकोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न भएको छ । दुईदिने सम्मेलनमा नेपाल तथा भारतका ख्यातिप्राप्त न्युरोसर्जन, रेडियसन अंकोलोजिस्ट, मेडिकल अंकोलोजिस्ट, रेडियोलोजिस्ट, प्याथोलोजिस्ट तथा अन्य स्वास्थ्य विशेषज्ञहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मेलनको पहिलो दिन न्युरोनेभिगेसन, कनेक्टोमिक्स, इन्ट्राअपरेटिभ नर्भ मोनिटरिङलगायतका अत्याधुनिक प्रविधिमा केन्द्रित व्यवहारिक कार्यशालाहरू सञ्चालन गरिएका थिए । दोस्रो दिन आयोजित वैज्ञानिक सत्रहरूमा मस्तिष्क ट्युमर उपचारका नवीनतम प्रविधि, चुनौती तथा भविष्यका सम्भावनाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूले प्रस्तुति दिएका थिए ।
सम्मेलनका अवसरमा न्युरोसर्जरी तथा न्युरो–अंकोलोजी क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै भारतका प्रा.डा. वी. राजशेखर, प्रा.डा. सुरेश नायर तथा नेपालका प्रा.डा. गोपालरमण शर्मा, प्रा.डा. प्रकाश विष्ट, प्रा.डा. वसन्त पन्त, प्रा.डा. पवनकुमार सुल्तानिया र स्व. प्रा.डा. उपेन्द्रप्रसाद देवकोटालाई विशेष सम्मान प्रदान गरिएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्तकुमार चौधरीले नेपालमा मस्तिष्क ट्युमर उपचारलाई अझ प्रभावकारी, आधुनिक र गुणस्तरीय बनाउन यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै ‘न्युरो–अन २०२६’ यस दिशामा एक महत्वपूर्ण कोशेढुंगा भएको बताए । अध्यक्ष प्रा. डा. राजीव झाले नेपालमा न्युरो—अंकोलोजी सेवाको विकास, विशेषज्ञबीचको सहकार्य तथा बिरामी उपचारको गुणस्तर अभिवृद्धिमा सम्मेलनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
