काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार चिकित्त्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। सुलभ फार्मेसी सेवा सुरु गरेपछि अब वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आउने सेवाग्राहीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा सहज रूपमा प्राप्त गर्न सक्ने विश्वास लिइएको छ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत बुँदा नं. ८५ (घ) अनुसार सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रम कार्यान्वयन गर्दै यी दुई अस्पतालमा सेवा सुरु गरिएको हो।
सरकारी अस्पतालमार्फत सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च घटाउने उद्देश्यका साथ सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
