पैँतिस वर्षअघिको एउटा भेट, जसले वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सुदीपमान वैद्य र एनेस्थेसियोलोजिष्ट डा. गुल वैद्यलाई जीवनभरको सहयात्री बनाइदियो । त्यो भेट, भेटपछिको मित्रता र वैवाहिक सम्बन्धले उपचारको यात्रामा यी चिकित्सक दम्पतीलाई बिरामीको सेवामा अगाडि बढ्न सहज बनाइदियो । यी चिकित्सक दम्पती तीन दशकभन्दा लामो समयदेखि हाडजोर्नीका बिरामीको उपचारमा समर्पित भएर लागेका छन् । उनीहरूले चितवनलाई कर्मक्षेत्र बनाएको पनि दुई दशकभन्दा बढी भइसकेको छ ।
“त्यो भेट अचम्मको थियो” आफ्नो नजिकै बस्नुभएका डा. सुदीपमानलाई पुलुक्क हेर्दै डा. गुलले सम्झनाको कुटिरो फुकाउनुभयो, “त्यति बेला उहाँ र म नानावती अस्पताल बम्बै (हाल, मुम्बई) मा कार्यरत थियौँ । उहाँ अर्थोपेडिक विभागमा सर्जन हुनुहुन्थ्यो, म न्यूरोसर्जरी विभागमा रजिष्ट्रार थिएँ । त्यस दिन अस्पतालको बेड नम्बर पाँचमा मेरो आफन्तको पाँच वर्षीय बालक टाउकोमा चोट लागेर उपचारका लागि चिकित्सक कुरेर पल्टिरहेका थिए । उनको टाउकोमा लागेको घाउ सफा गरेर टाउकोमा टाँका लगाउनु पर्ने थियो । टाँका लगाउन ढिलाइ भइरहेको थियो । घाइते बालकको टाउकोबाट रगत बगिरहेको थियो । मैले धैर्य गुमाएँ, रिसाएँ, कराएँ । उहाँले यो सब हेरिरहनु भएको रहेछ ।”
एकछिन रोकिएर पुनः डा. सुदीपमानको अनुहारमा हेरेर मुसुक्क हाँस्दै डा. गुलले अगाडि भन्नुभयो, “सायद मलाई उहाँले ‘स्ट्रङ लेडी’ (निडर नारी) को रुपमा पाउनुभयो कि ? हाम्रो मित्रता त्यहीँबाट सुरु भयो । कालान्तरमा वैवाहिक सम्बन्धमा फेरिएको त्यो मित्रता आजसम्म कायम छ अझ बलियो, अझ घनिष्ठ ।”
डा. गुलले कुरा टुङ्ग्याएपछि डा. सुदीपमानले भन्नुभयो, “मैले मेरो चिकित्सकीय जीवनमा हाडजोर्नीसम्बन्धी करिब १५ हजार वटा शल्यक्रिया गरिसकेँ । ती सबैजसो शल्यक्रियामा बिरामीलाई एनेस्थेसिया (लठ्याउने औषधि) दिने काम डा. गुलले नै गरेकी थिइन् । उनी मेरो जीवनको मात्र नभएर पेशागत कर्मको पनि सहयात्री हुन् ।”
डा. गुल र डा. सुदीपमान वैद्यका एक मात्र सन्तान प्रभात वैद्य काठमाडौँ विश्वविद्यालयमा बिबिए अन्तिम वर्षमा अध्ययनरत छन् । चिकित्सक दम्पतीका छोराले चिकित्साशास्त्र नपढेर व्यवस्थापन विषय पढेको सुन्दा अलि असहज लाग्छ । यसको कारण बताउँदै डा. गुलले भन्नुभयो, “हामी दुबै जनाको प्रबल चाहना छोरा पनि डाक्टर बनोस् भन्ने नै थियो तर उनको चाहनालाई मध्यनजर गर्दै हामीले उनलाई स्वतन्त्र छाडिदिएका छौँ ।”
“त्यति बेला उहाँ र म नानावती अस्पताल बम्बै (हाल, मुम्बई) मा कार्यरत थियौँ । उहाँ अर्थोपेडिक विभागमा सर्जन हुनुहुन्थ्यो, म न्यूरोसर्जरी विभागमा रजिष्ट्रार थिएँ । त्यस दिन अस्पतालको बेड नम्बर पाँचमा मेरो आफन्तको पाँच वर्षीय बालक टाउकोमा चोट लागेर उपचारका लागि चिकित्सक कुरेर पल्टिरहेका थिए । उनको टाउकोमा लागेको घाउ सफा गरेर टाउकोमा टाँका लगाउनु पर्ने थियो । टाँका लगाउन ढिलाइ भइरहेको थियो । घाइते बालकको टाउकोबाट रगत बगिरहेको थियो । मैले धैर्य गुमाएँ, रिसाएँ, कराएँ । उहाँले यो सब हेरिरहनु भएको रहेछ । सायद मलाई उहाँले ‘स्ट्रङ लेडी’ (निडर नारी) को रुपमा पाउनुभयो कि ?”
अर्थोपेडिकका अग्रणी अनुहार
नेपालमा खेलकुद चोट, आर्थोस्कोपी तथा आधुनिक हाडजोर्नी उपचार सेवाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने चिकित्सकमध्ये डा. सुदीपमान वैद्य अग्रणी अनुहारका रूपमा चिनिनुहुन्छ । उहाँ हाल नेशनल सिटी अस्पताल भरतपुरमा वरिष्ठ हाडजोर्नी तथा आर्थोस्कोपी शल्य चिकित्सकका रूपमा कार्यरत हुनुहुन्छ ।
हाडजोर्नीको समस्या भएका बिरामीहरूको उपचारमा तीन दशकभन्दा लामो समयदेखि सेवारत डा. वैद्य नेपालका पुराना र अग्रणी चिकित्समध्ये एक हुनुहुन्छ । “काठमाडौँमा सन् १९९५ मा नेपाल अर्थोपेडिक एसोसिएसन गठन गर्दा नेपालभर अर्थोपेडिक डाक्टर जम्मा २५ जना थियौँ” उहाँले भन्नुभयो, “अहिले त चितवनमै ७५ जनाभन्दा बढी अर्थोपेडिक डाक्टर सेवारत छौँ ।” नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका अर्थोपेडिक चिकित्सक अहिले नेपालभर आठ सयको हाराहारीमा रहेको उहाँले बताउनुभयो ।
विगतमा भाँचिएको हात वा खुट्टाको हाड जोड्न प्लास्टर मात्र गरिने चितवनमा अहिले हाडजोर्नीसम्बन्धी सबैखाले शल्यक्रिया हुने गरेको डा. वैद्यले बताउनुभयो । “काठमाडौँमा हुने हाडजोर्नीसम्बन्धी सबै प्रकारका शल्यक्रिया चितवनमा हुन्छ, अन्यत्र जानु पर्दैन” उहाँ भन्नुहुन्छ, “दुई दशकअघि (२०६२ साल) चितवनमा पहिलोपटक मैले बाँदरमुढे घटनाकी एक जना घाइते महिलाको खुट्टामा इलिजोरब रिङ लगाएर उपचार गरेको थिएँ । आर्थ्रोस्कोपिक सर्जरी चितवनमा मैले नै सुरु गरेको हुँ ।”
सन् १९९० मा भारतको कर्नाटक मेडिकल कलेज, हुबलीबाट एमबीबीएस अध्ययन पूरा गरेका डा. वैद्यले त्यसपछि हाडजोर्नी रोग विषयमा डिप्लोमा, अन्तर्राष्ट्रिय फेलोसिप तथा उच्च शल्य चिकित्सा अध्ययन हासिल गर्नुभएको हो । उहाँ नेपालमा आर्थ्रोस्कोपी तथा खेलकुद चोट उपचारलाई व्यवस्थित रूपमा विकास गर्ने चिकित्सकमध्ये एक मानिनुहुन्छ ।
बहुआयामिक व्यक्तित्व
नेपाल हाडजोर्नी संघ तथा नेपाल आर्थ्रोस्कोपी समाजका संस्थापक/आजीवन सदस्य रहनुभएका डा. वैद्यले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँ नेपाल आर्थ्रोस्कोपी समाजका सन् २०२२–२३ का अध्यक्षसमेत हुनुहुन्छ ।
वीरेन्द्र प्रहरी अस्पतालमा हाडजोर्नी शल्य चिकित्सकका रूपमा सेवा सुरु गर्नुभएका उहाँले द्वन्द्वकालमा घाइते प्रहरी तथा सर्वसाधारणको उपचार, उद्धार तथा सामूहिक घाइते व्यवस्थापनमा सक्रिय भूमिका खेल्नुभएको थियो । त्यसपछि उहाँले पाटन अस्पताल ललितपुरमा वरिष्ठ रजिस्ट्रारका रूपमा कार्य गर्दै हाडजोर्नी विभाग स्थापना र विस्तारमा योगदान दिनुभयो ।
काठमाडौंमा सीमित रहेको हाडजोर्नी सेवा चितवनसम्म विस्तार गर्ने उद्देश्यसहित उहाँ २०६२ सालमा चितवन आउनुभयो । त्यति बेला चितवन तथा आसपासका बिरामी सामान्य शल्यक्रियाका लागि समेत काठमाडौं धाउनु पर्ने बाध्यता थियो । उहाँको पहलपछि भरतपुरमा आधुनिक हाडजोर्नी सेवा विस्तार भयो ।
उहाँले सन् २०११ मा चितवन हाडजोर्नी समाज स्थापनाका लागि समन्वय गरी चिकित्सकहरूबीच शैक्षिक सहकार्य र व्यावसायिक सम्बन्ध विकासमा पनि भूमिका खेल्नुभएको थियो । उहाँले विभिन्न आर्थोस्कोपी तालिम तथा हाडजोर्नीसम्बन्धी प्रशिक्षण कार्यक्रममा राष्ट्रिय प्रशिक्षकका रूपमा सहभागिता जनाउँदै आउनुभएको छ ।
नेपालको दुर्गम क्षेत्रसम्म आर्थ्रोस्कोपी तथा खेलकुद चोट (स्पोर्ट्स इन्जुरी) सेवा पुर्याउने, आवश्यकतामा आधारित हाडजोर्नी उपचारलाई प्रवद्र्धन गर्ने तथा भविष्यमा हड्डी भण्डारण केन्द्र (बोन बैंक) र प्रत्यारोपणका लागि आवश्यक अर्थोपेडिक सेवा सुरु गर्ने उहाँको दीर्घकालीन योजना रहेको छ । “नेपाल कार्टिलेज समाज” स्थापना गर्ने सम्भावनाबारे पनि उहाँले पहल गरिरहनुभएको छ ।
हाल भरतपुरस्थित नेशनल सिटी अस्पतालमा सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक एवं आर्थ्रोस्कोपी सर्जनका रुपमा कार्यरत डा. वैद्यले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएबापत स्वास्थ्य दर्पण हेल्थ अवार्डलगायत दर्जनौँ सम्मान पाइसक्नु भएको छ । भरतपुर–४, यज्ञपुरी निवासी डा. वैद्य टेनिस, टेबल टेनिस, बगैँचाको काम तथा गायनमा रुचि राख्नुहुन्छ ।
