काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले तीन वर्षमा सय मिर्गौला प्रत्यारोपण गरेको छ । प्रत्यारोपणपछि धेरै बिरामी डायलाइसिसको कठिन जीवनबाट मुक्त भएर सामान्य जीवनमा फर्किएका र उनीहरूका परिवारमा नयाँ आशा र खुसी थपिएको अस्पतालले जनाएको छ ।
‘फर अ हेल्दी एण्ड प्रोस्पेरिओस नेसन’ भन्ने आफ्नो दीर्घकालीन दृष्टिकोणअनुसार आगामी दिनमा अंग प्रत्यारोपण सेवाको पहुँच, गुणस्तर र उत्कृष्टतालाई अझ विस्तार गर्दै धेरैभन्दा धेरै बिरामीलाई नयाँ जीवन प्रदान गर्ने अभियानलाई निरन्तर अघि बढाइने अस्पतालले जनाएको छ ।
यस उपलब्धिका लागि अस्पतालले बिरामी, अंगदाता तथा उनीहरूका परिवार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सम्पूर्ण सहयोगी कर्मचारीप्रति आभार व्यक्त गर्दै १०० सफल मिर्गौला प्रत्यारोपण आफ्नो यात्राको अन्त्य नभई अझ उत्कृष्ट स्वास्थ्य सेवा विस्तार गर्ने नयाँ सुरुवात भएको उल्लेख गरेको छ ।
नेपाल मेडिसिटीले पछिल्ला वर्षहरूमा मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपण सेवामा समेत उल्लेखनीय उपलब्धि हासिल गरेको छ । यसअघि अस्पतालले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बिरामीमा सफल कलेजो प्रत्यारोपण गरेको थियो ।
