वीरगञ्ज । बिरामीको मृत्युपछि हिजो नारायणी अस्पतालका मेडिकल अफिसर डा प्रमोद राममाथि भएको निर्घात कुटपिट तथा अस्पताल तोडफोडको घटनाको बिरोधमा नेपाल चिकित्सक संघ नारायणी शाखाले कडा आन्दोलनको घोषणा गरेको छ ।
आज विहान वीरगञ्जमा बसेको संघको बैठकले विभिन्न ४ बुँदे माग अघि सार्दै पुरा नभएसम्म नारायणी अस्पताल सहित त्यस क्षेत्रका अन्य सरकारी तथा निजी अस्पतालमा आकस्मिक सहित सम्पूर्ण उपचार सेवा रोक्ने निर्णय गरेको हो । चिकित्सकहरुले अहिलेसम्म गरेका आन्दोलनमा अन्य सेवा बन्द भए पनि आकस्मिक सेवा बन्द गरिएको थिएन ।
घटना पछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल र मेसु डा चित्तरञ्जन साह सहितको सहभागितामा बसेको बैठकले आकस्मिक सेवामा कार्यरत डा रामसहितका पाँच स्वास्थ्यकर्मीहरुलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गर्दै छानविन रिपोर्ट पछि थप कार्वाही अघि बढाउने निर्णय गरेको थियो ।सेवामा खटिएका आकस्मिक सेवाका डाक्टर तथा स्वास्थ्यकर्मीलाई सुरक्षा दिनुको सट्टा झन असुरक्षित र अपमान गर्ने काम प्रशासनबाट भएको भन्दै चिकित्सकहरु क्रुद्ध भएका हुन् ।
