ललितपुर। ‘चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो’ को तयारी पूरा भएको छ। नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरूको संयुक्त आयोजनामा साउन १६ गते हुने शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन्।
क्यान्सर सर्भाइभर र्याम्प शोको व्यवस्थापन श्रीदीप प्रा.लि.ले गर्नेछ भने नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर र जनमैत्री अस्पतालले सहकार्य गरेका छन्। शोमा क्यान्सरलाई जितेर सामान्य जीवनमा फर्किएका १०० भन्दा बढी क्यान्सर सर्भाइभर र्यापमा हिँड्नेछन्।
र्याम्प शोकी परिकल्पनाकार, नेपाल क्यान्सर सपोर्ट ग्रुपकी उपाध्यक्ष तथा उपचारका लागि सहयोगी हातहरूकी अध्यक्ष स्वरुपा श्रेष्ठले क्यान्सरका बिरामीलाई उत्प्रेरित गर्न सन् २०१९ मा पहिलो क्यान्सर सर्भाइभर र्याप शो आयोजना गरिएको स्मरण गरिन्। उनले त्यतिबेला २४ जना सर्भाइभरलाई र्यापमा सहभागी गराउनसमेत निकै कठिन भएको अनुभव सुनाउँदै अहिले सात वर्षपछि परिस्थितिमा ठूलो परिवर्तन आएको बताइन्।
“त्यतिबेला क्यान्सरका बिरामीहरू सार्वजनिक रूपमा अगाडि आउन हिच्किचाउँथे। २४ जनालाई र्यापमा उतार्न पनि हम्मे–हम्मे परेको थियो,” उनले भनिन्, “अहिले १०० जनाभन्दा बढी क्यान्सर सर्भाइभर र्याप शोमा सहभागी हुँदै हुनुहुन्छ। यही परिवर्तन नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”
‘पाँचौँ मिसेस नेपाल युनिभर्स २०२६’ समेत रहेकी मोडल तथा सामाजिक अभियन्ता डली गुरुङले अघिल्ला संस्करणमा सहभागिता कम भए पनि उत्साह अत्यधिक रहेको उल्लेख गर्दै यस वर्ष १०० भन्दा बढी सर्भाइभरको सहभागिता रहने जानकारी दिइन्। उनका अनुसार शोमा ३ वर्षका बालबालिकादेखि भर्खरै किमोथेरापी लिएका बिरामीसम्म सहभागी हुनेछन्।
कार्यक्रमका कोरियोग्राफर, मोडल तथा फेसन डिजाइनर विशाल गुरुङले २२ वर्षको फेसन करिअरमा यो आफ्नो फरक र विशेष अनुभव रहेको बताए। उनले यस्तो र्याप शोले हरेक क्यान्सर सर्भाइभरमा अदृश्य आत्मबल र आत्मविश्वास थप्ने विश्वास व्यक्त गरे।
नेपाल क्यान्सर सपोर्ट ग्रुपका उपाध्यक्ष सशांक शर्माले क्यान्सर सर्भाइभरहरू सिर्जनात्मक गतिविधिमा सहभागी हुन रुचाउने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई समाजसँग थप जोड्ने बताए।
