वीरगञ्ज । विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नारायणी अस्पतालमा स्तनपानको महत्व तथा शिशु स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विशेष कार्यक्रम सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन शुक्रबार अस्पतालका नर्सिङ स्टाफहरूले स्तनपानको महत्वबारे जनचेतना फैलाएका हुन् ।
वरिष्ठ युरोलोजिष्ट डा. चितरञ्जन साहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख बालरोग परामर्शदाता डा. शैलेश ठाकुर, प्रमुख स्त्री तथा प्रसूति रोग परामर्शदाता डा. सुरेन्द्रप्रसाद चौधरी र नर्सिङ प्रमुख श्रुति शाहको विशिष्ट उपस्थिति रहेको थियो ।
नर्सिङ स्टाफहरूले प्रस्तुत गरेको नाटकमा शिशु जन्मिएलगत्तै आमाको पहिलो बिगौती दूध खुवाउनुपर्ने, जन्मेदेखि ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउनुपर्ने तथा स्तनपानले आमा र शिशु दुवैको स्वास्थ्यमा पुर्याउने फाइदाबारे सन्देश प्रवाह गरिएको थियो । अभिनयमार्फत स्तनपानसम्बन्धी समाजमा विद्यमान विभिन्न गलत धारणा, भ्रम तथा परम्परागत मान्यतालाई समेत प्रस्तुत गरिएको थियो । यस्ता भ्रमका कारण आमा र शिशुको स्वास्थ्यमा पर्न सक्ने असरबारे सचेत गराउँदै स्तनपानका वैज्ञानिक तथा स्वास्थ्यसम्बन्धी फाइदालाई समुदायसम्म पुर्याउनुपर्ने सन्देश दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अतिथिहरूले नवजात शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको दूध सर्वोत्तम आहार भएको बताए । शिशु जन्मिएपछि सकेसम्म चाँडो स्तनपान सुरु गराउनुका साथै ६ महिनासम्म पूर्ण स्तनपान गराउने विषयमा परिवार र समुदायलाई सचेत बनाउन आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
उनीहरूले स्तनपानसम्बन्धी गलत धारणा र सामाजिक भ्रम हटाउन स्वास्थ्यकर्मी, परिवार तथा समुदायबीच निरन्तर समन्वय र जनचेतना आवश्यक रहेको उल्लेख गरे । स्वास्थ्य संस्थाबाट सञ्चालन हुने यस्ता सिर्जनात्मक तथा व्यावहारिक कार्यक्रमले आमाहरूलाई स्तनपानको महत्व बुझाउन र सकारात्मक व्यवहार विकास गर्न सहयोग पुर्याउने उनीहरूको विश्वास थियो ।
विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म मनाइन्छ । यस अवसरमा नारायणी अस्पतालले स्तनपानको महत्व, शिशु स्वास्थ्य तथा आमाको स्वास्थ्यसँग सम्बन्धित विषयमा विभिन्न जनचेतनामूलक गतिविधि सञ्चालन गरेको जनाएको छ ।
कार्यक्रमको अन्त्यमा प्रभावकारी अभिनय प्रस्तुत गर्ने तथा कार्यक्रम सफल बनाउन योगदान पुर्याउने नर्सिङ स्टाफहरूलाई प्रशंसास्वरूप प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो । यससँगै विश्व स्तनपान सप्ताह–२०२६ अन्तर्गत नारायणी अस्पतालमा सञ्चालित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।
