स्तन क्यान्सर सुरुवाती चरणमै पहिचान गर्न सकेमा यसको उपचार प्रभावकारी हुने सम्भावना धेरै हुन्छ। त्यसैले स्तनमा असामान्य परिवर्तन देखिएमा बेवास्ता नगरी समयमै स्वास्थ्य परीक्षण गराउनु आवश्यक हुन्छ।
स्तनमा गाँठागुँठी वा कडा भाग महसुस हुनु, स्तनको आकार वा स्वरूपमा परिवर्तन आउनु, छालामा खाल्डो पर्नु, निप्पलबाट असामान्य तरल पदार्थ वा रगत आउनु, निप्पल भित्रतिर धसिनु तथा काखीमा गाँठो देखिनु स्तन क्यान्सरका सम्भावित संकेत हुन सक्छन्।
स्तन क्यान्सर पत्ता लगाउने प्रमुख परीक्षणमध्ये म्यामोग्राफी महत्वपूर्ण मानिन्छ। चिकित्सकको सल्लाहअनुसार म्यामोग्राफी, स्तनको अल्ट्रासाउन्ड तथा आवश्यक परे बायोप्सीमार्फत क्यान्सर भए–नभएको यकिन गर्न सकिन्छ। नियमित रूपमा आफ्नो स्तनमा आएको परिवर्तनबारे सचेत हुनु र शंकास्पद लक्षण देखिएमा विशेषज्ञ चिकित्सकसँग परामर्श लिनु नै प्रारम्भिक पहिचानको सरल र प्रभावकारी उपाय हो।
