पवन प्रसाद शाह
वीरगञ्ज | वीरगञ्जस्थित नारायणी अस्पतालमा गर्भवती तथा सुत्केरी आमालाई थप सहयोग, हेरचाह तथा स्वास्थ्यसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले ‘केयर कम्प्यानियन कार्यक्रम’ सुरु गरिएको छ।
वन हार्ट वर्ल्डवाइडको सहकार्यमा सुरु गरिएको कार्यक्रममा अस्पतालमा गर्भपूर्व जाँच (एएनसी) बहिरंग सेवा तथा प्रसूतिपछिको वार्डमा सेवा लिन आउने गर्भवती तथा सुत्केरी आमालाई आवश्यक स्वास्थ्य परामर्श, भावनात्मक सहयोग तथा हेरचाहसम्बन्धी जानकारी प्रदान गरिनेछ। कार्यक्रममार्फत गर्भावस्था, प्रसव तथा प्रसवपछिको स्वास्थ्य, नवजात शिशुको हेरचाह, स्तनपान र पोषणसम्बन्धी आवश्यक जानकारी दिइनेछ। साथै, आमाहरूलाई आवश्यक स्वास्थ्य सेवा लिन सहज बनाउँदै स्वस्थ व्यवहार अपनाउन प्रोत्साहित गरिनेछ।
नारायणी अस्पताल र वन हार्ट वर्ल्डवाइडबीचको सहकार्यले गुणस्तरीय, सम्मानजनक तथा आमामैत्री मातृ स्वास्थ्य सेवा प्रवर्द्धनमा योगदान पुर्याउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन शाहले जानकारी दिनुभयो।
डा. शाहका अनुसार कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन तथा सुरक्षित मातृत्वको लक्ष्य हासिल गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।
