पवन प्रसाद शाह
वीरगञ्ज | नारायणी अस्पताल वीरगञ्जको आयोजनामा स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकका लागि आकस्मिक जीवनरक्षा सेवा प्रभावकारी बनाउने तालिम सम्पन्न गरिएको छ। अस्पतालमा कार्यरत विभिन्न विभागका स्वास्थ्यकर्मी तथा पर्सा जिल्लामा रहेका एम्बुलेन्स चालकसहित ६० जनालाई तालिम दिइएको हो।
अस्पतालमा आयोजित तालिममा आकस्मिक अवस्थामा बिरामीलाई तत्काल आवश्यक सेवा उपलब्ध गराउने, प्राथमिक उपचार गर्ने तथा अस्पतालसम्म सुरक्षित रूपमा पुर्याउने विषयमा प्रशिक्षण दिइएको थियो। तालिमले स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकलाई कार्यक्षेत्रमा आइपर्ने आकस्मिक अवस्थाको प्रभावकारी व्यवस्थापन गर्दै बिरामीको जीवन बचाउन थप सक्षम बनाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्ररञ्जन शाहले बताउनुभयो।
मधेश प्रदेशमा सडक दुर्घटनाका घटना तुलनात्मक रूपमा बढी हुने भएकाले आकस्मिक सेवा र उद्धार कार्यलाई प्रभावकारी बनाउन यस्तो तालिम महत्वपूर्ण हुने अस्पतालका नायब सुब्बा सुशीलप्रसाद यादवले जानकारी दिनुभयो।
तालिमले दुर्घटना तथा अन्य आकस्मिक अवस्थामा तत्काल र समन्वयात्मक रूपमा सेवा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



