काठमाडौं । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त हुनुभएको छ। उहाँले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन,परीक्षा,चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ।डा. श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गर्नुभएको छ।
नेपाल मेडिकल काउन्सिलसँग पनि उहाँको लामो संलग्नता छ। उहाँ सन् २०१४-२०१६ मा काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो। काउन्सिलमा रहँदा उहाँले शिक्षा,परीक्षा,आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हाल्नुभएको थियो।
