काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबीच चालु आर्थिक वर्षमा मन्त्रालयबाट सम्पादन गरिने प्रमुख कार्य तथा हासिल गरिने उपलब्धिलाई लक्षित गरी कार्यसम्पादन सम्झौता भएको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र मन्त्री मेहताले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरी सम्झौताको प्रति आदानप्रदान गर्नुभएको हो।
सम्झौतामा स्वास्थ्य तथा खाद्य स्वच्छताको क्षेत्रमा चालु आर्थिक वर्षमा हासिल गर्नुपर्ने प्रमुख उपलब्धि, कार्यसम्पादनका सूचक तथा निर्धारित लक्ष्यलाई प्राथमिकताका साथ समेटिएको जनाइएको छ। साथै, सरकारको सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई समेत सम्झौतामा जोड दिइएको छ।
कार्यसम्पादन सम्झौतामार्फत मन्त्रालयका कार्यक्रम तथा निर्धारित लक्ष्यलाई परिणाममुखी ढङ्गले कार्यान्वयन गर्ने आधार तयार हुने अपेक्षा गरिएको छ। सम्झौतामा समेटिएका सूचकका आधारमा मन्त्रालयको कार्यप्रगति तथा उपलब्धिको नियमित मूल्यांकन गर्नसमेत सहज हुने जनाइएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतासँग सम्बन्धित कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी सेवा उपलब्ध गराउनेतर्फ मन्त्रालयले प्राथमिकताका साथ काम गर्ने बताइएको छ। सम्झौताले मन्त्रालयका वार्षिक कार्यक्रमलाई स्पष्ट लक्ष्य, जिम्मेवारी र उपलब्धिसँग जोड्दै कार्यसम्पादनमा जवाफदेहिता तथा परिणाममुखी कार्यशैली प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ ।
