चितवन । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखा र जनकपुर आँखा अस्पतालमा फिडब्याक डिजिटाइजेसन कार्यशाला सम्पन्न भएको छ । ब्रिटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी मानवीय मूल्य तथा सञ्चार विभागसँगको समन्वयमा कार्यशालाको आयोजना गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटीले लामो समयदेखि विभिन्न माध्यमहरूबाट सेवा, कार्यक्रम तथा गतिविधिहरूका बारेमा पृष्ठपोषण तथा गुनासा संकलन गरी प्राप्त पृष्ठपोषण तथा गुनासाको उचित सम्बोधन र समुदायको आवश्यकताको आधारमा कार्यक्रममा सुधार गर्दै आइरहेको छ । यसै सन्दर्भमा पृष्ठपोषण तथा गुनासा व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले स्वयंसेवक तथा कर्मचारीहरुको लागि कार्यशाला आयोजना गरिएको हो ।
कार्यशालाको प्रथम सत्रमा कार्यक्रमको उद्देश्यहरूबारे जानकारी तथा रेडक्रस अभियानको इतिहास, सिद्धान्त तथा मानवीय सेवामा नेरेसोको योगदानबारे प्रस्तुति र छलफल गरिएको थियो । कार्यक्रममा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी परिचयात्मक सत्र सञ्चालन गरिएको थियो । साथै, नेरेसोलाई समुदायबाट प्राप्त हुने प्रश्न, जिज्ञासा, गुनासो तथा सुझाव व्यवस्थापनलाई प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले फिडब्याक डिजिटाइजेसनसम्बन्धी परिचयात्मक तथा व्यावहारिक सत्र सञ्चालन गरिएको थियो । सहभागीहरूले डिजिटल माध्यमबाट प्रश्न, जिज्ञासा, गुनासो तथा सुझाव र प्रतिक्रिया सङ्कलन, अभिलेखीकरण तथा व्यवस्थापनका विविध पक्षबारे प्रत्यक्ष अभ्यास गर्नुभएको थियो ।
कार्यक्रममा चितवन जिल्ला शाखा, उपशाखाका स्वयमसेवक तथा कर्मचारीहरूलाई दुई चरणमा गरिएको अभिमुखीकरणमा ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । यस्तै तालिममा जनकपुर आँखा अस्पतालमा कार्यरत ३८ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।
