काठमाडौँ । रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी वीर अस्पतालमा ल्याइएका सात जनामध्ये पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका सात जनालाई उद्धार गरीे ल्याइएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका हुन् ।
हाल वीर अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । उपचाररत दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका अन्य १८ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । घाइतेका आफन्तजन अस्पताल पुगेर आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेका छन्।रासस
