नेपालको स्वास्थ्य प्रणालीमा ग्रामीण भेगमा सेवा गर्नु भनेको केवल पेशा मात्र होइन, यो एक प्रकारको सामाजिक जिम्मेवारी र मानवीय सेवा हो । दुर्गम गाउँहरूमा स्वास्थ्य सेवा पुर्याउनु सजिलो काम होइन, तर यही कठिनाइभित्र नै असली सन्तोष र जीवनको उद्देश्य भेटिन्छ । मैले लामो समयदेखि चितवनको माडीमा रही स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदै ग्रामीण जनताको सेवा गर्ने अवसर पाएको छु । यस यात्रामा मैले धेरै चुनौती, संघर्ष र प्रेरणादायी अनुभवहरू बटुलेको छु ।
मेरो स्वास्थ्य सेवा यात्रा सुरु गर्दा ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको ठूलो अभाव देखेको थिएँ । सानो रोगले पनि ज्यान जोखिममा पर्ने अवस्था थियो । गर्भवती महिला, बालबालिका र वृद्धवृद्धाहरू समयमै उपचार नपाएर जटिल अवस्थामा पुग्ने घटनाहरू सामान्य जस्तै थिए । यस्ता दृश्यहरूले मलाई अझ जिम्मेवार बनायो र सेवा भावलाई गहिरो पनि बनायो ।
ग्रामीण क्षेत्रमा काम गर्दा सबैभन्दा ठुलो चुनौती भनेको भौगोलिक कठिनाइ हो । कहिलेकाहीँ घण्टौं पैदल हिँडेर बिरामीसम्म पुग्नुपर्ने अवस्था आउँछ । वर्षायाममा बाटो अवरुद्ध हुँदा समयमै स्वास्थ्य सेवा पुर्याउन कठिन हुन्छ । तर बिरामीको पीडा देख्दा ती सबै कठिनाइहरू साना लाग्छन् । एक जना बिरामीको जीवन बचाउन सक्दा आउने सन्तोष शब्दमा बयान गर्नै सकिँदैन ।
मैले ग्रामीण क्षेत्रमा काम गर्दा जनचेतनाको कमी पनि ठूलो समस्या रहेको पाएँ । धेरै मानिसहरू रोगलाई सामान्य ठानेर ढिला उपचार गर्ने गर्छन् । परम्परागत विश्वास र अन्धविश्वासका कारण पनि धेरै बिरामीहरू समयमै अस्पताल आउन हिचकिचाउँछन् । त्यसैले उपचारसँगै जनचेतना फैलाउनु पनि हाम्रो महत्वपूर्ण जिम्मेवारी हो । मैले स्वास्थ्य शिविर, घरदैलो कार्यक्रममार्फत मानिसहरूलाई स्वास्थ्यसम्बन्धी जानकारी दिने प्रयास गरिरहेको छु ।
गर्भवती महिलाहरूको स्वास्थ्य सेवा मेरो अनुभवमा सबैभन्दा संवेदनशील पक्ष हो । धेरै गाउँहरूमा नियमित जाँच नगराउने, घरमै सुत्केरी गराउने चलन अझै पनि छ । यसले आमा र बच्चा दुवैको जीवन जोखिममा पार्छ । मैले धेरै पटक समयमै सचेत गराएर जटिलता रोक्न सफल भएको छु । यस्ता अनुभवहरूले मलाई अझ जिम्मेवार बनाएको छ ।
बालबालिकाको स्वास्थ्य पनि ग्रामीण क्षेत्रमा ठूलो चुनौती हो । पोषणको कमी, खोपको अभाव र सरसफाइको कमीका कारण धेरै बालबालिकाहरू रोगको सिकार हुन्छन् । हामीले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय समुदायसँग मिलेर काम गरेका छौं । विस्तारै सकारात्मक परिवर्तन देखिन थालेको छ । मेरो सेवाकालमा धेरै भावनात्मक क्षणहरू पनि आएका छन् । कुनै बिरामीलाई बचाउन सफल हुँदा परिवारको खुशी देख्दा लाग्छ, मेरो जीवन सार्थक भयो । तर कहिलेकाहीँ प्रयास गर्दा पनि बिरामी बचाउन नसक्दा मन भारी हुन्छ । यस्ता क्षणहरूले अझ धेरै सिकाउँछ र भविष्यमा अझ राम्रो सेवा गर्न प्रेरणा दिन्छ ।
स्थानीय समुदायसँगको सहकार्य पनि ग्रामीण स्वास्थ्य सेवाको महत्वपूर्ण पक्ष हो । जनप्रतिनिधि, शिक्षक, महिला समूह र युवा क्लबहरूसँग मिलेर स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी परिणाम देखिएको छ । समुदाय आफैं सक्रिय भएपछि स्वास्थ्य सेवाको पहुँच र प्रभाव दुबै बढ्छ । समयसँगै प्रविधि र स्वास्थ्य सेवामा सुधार हुँदै गएको छ । अहिले धेरै गाउँहरूमा स्वास्थ्य चौकीहरू सुदृढ भएका छन् । तर अझै पनि पूर्णरूपमा आवश्यक सेवा सबै ठाउँमा पुग्न सकेको छैन । दक्ष जनशक्ति, औषधि आपूर्ति र पूर्वाधार विकास अझै पनि सुधार गर्नुपर्ने क्षेत्र हुन् ।
मेरो अनुभवले मलाई एउटा कुरा स्पष्ट सिकाएको छ । ग्रामीण क्षेत्रमा सेवा गर्नु भनेको केवल उपचार गर्नु मात्र होइन, यो जीवन बदल्ने अभियान पनि हो । एक जना सचेत नागरिक, एक जना उपचार पाएको बिरामीले पुरै समुदायमा सकारात्मक प्रभाव पार्न सक्छ ।
