दुई दशकदेखि अस्पताल सञ्चालन एवं व्यवस्थापनको काममा सक्रिय पुष्पराज शर्मा धितालले पछिल्लो दुई महिनादेखि भरतपुरमा रहेको समिट हेल्थकेयर प्रा.लि.मा कार्यकारी निर्देशकको जिम्मेवारी वहन गरिरहनु भएको छ । चितवनमा अस्पताल व्यवस्थापनको क्षेत्रमा आफूलाई अब्बल साबित गर्नुभएका शर्माले स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको भने चार दशक भइसकेको छ ।
“मैले २०४१ सालमा भरतपुर अस्पताल (तत्कालीन महेन्द्र आदर्श चिकित्सालय) बाट स्वास्थ्य क्षेत्रमा प्रवेश गरेको हुँ” विगत सम्झिँदै शर्माले भन्नुभयो, “२०३७ सालमा चितवन माध्यमिक विद्यालय भरतपुरबाट एसएलसी उत्तीर्ण गरेपछि लोकसेवाको खरिदार तहमा परीक्षा दिएर नाम निकालेर निजामति क्षेत्रमा काम सुरु गरेको थिएँ ।”
२०३२ सालदेखि भरतपुर–७, कृष्णपुरको स्थायी बासिन्दा हुनुभएका शर्माको परिवार २०२९ सालमा सिन्धुपाल्चोकबाट बसाइँ सरेर भरतपुर–१२, नौरङ्गे आएको थियो । बुवा पण्डित मिठ्ठुराम शर्मा धिताल र आमा रमादेवी शर्मा धितालका जेठो छोरा पुष्पराज शर्मा धितालको जन्म २०१५ साल भदौ २८ गते सिन्धुपाल्चोकको लाँघर्चे गाउँमा भएको हो । व्यवस्थापनमा स्नातक (बिकम) सम्मको अध्ययन गर्नुभएका शर्माका एक छोरा र चार छोरी छन् । छोरा र बुहारीले कृषिमा विद्यावारिधी (पिएचडी) गरेका छन् भने तीन वटी छोरीले नर्सिङ्मा स्नातकोत्तर (एमएन) र एउटी छोरीले नर्सिङमा स्नातक (पिबिएन) को पढाइ पूरा गरेका छन् ।
शर्माकी श्रीमती कमला शर्मा धितालको दुई दशकअघि दुर्घटनामा निधन भयो । कलेज अफ मेडिकल साइन्सेज् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा नर्सिङ कोअर्डिनेटरका रुपमा कार्यरत कमलाले कलेजका विद्यार्थीलाई शैक्षिक भ्रमणमा लगेर फर्कने क्रममा उक्त दुर्घटना भएको थियो । “२०६१ साल मंसिर १३ गते अर्थात् मेरो जीवनमा आएको त्यो कालो दिन म कसरी बिर्सन सक्छु र ?” शर्माले मलिन स्वरमा भन्नुभयो, “श्रीमती कमलाको नेतृत्वमा गएको टोली शैक्षिक भ्रमणबाट फर्किने क्रममा हेटौँडाको रातामाटे भन्ने ठाउँमा आइपुग्दा उनीहरू चढेको बस बाटोभन्दा बाहिर गएर पल्टियो । सोही बसले च्यापेर श्रीमतीको निधन भयो ।”
श्रीमती कमलाको निधनले असह्य चोट दिएपछि आफूले स्वास्थ्य क्षेत्रमा नै उल्लेखनीय काम गर्ने र छोरीहरूलाई पनि उनीहरूको आमालाई जस्तै नर्स बनाउने सङ्कल्प आफूले लिएको र त्यसलाई पूरा गरेको शर्माले बताउनु भयो । “स्वर्गीय श्रीमती कमलाको प्रेरणाले छोरीहरूलाई नर्सिङ पढाएँ”, शर्माले भन्नुभयो, “म मेडिकल क्षेत्रमा अगाडि बढेको पनि कमलाकै प्रेरणाले हो ।”
पुष्पराज शर्मा मेडिकल क्षेत्रमा प्रवेश गरेको पहिलो बिसौनी भरतपुर अस्पताल थियो । देशमा पञ्चायती व्यवस्था विद्यमान रहेको समयमा शर्मा भरतपुर अस्पताल (त्यतिबेलाको महेन्द्र आदर्श चिकित्सालय) मा कार्यरत हुनुहुन्थ्यो । बहुदलका पक्षपाती शर्माले निर्दलीय पञ्चायती सरकारविरुद्धको आन्दोलनमा सहभागिता जनाउनु भयो । २०४६ साल फागुन ७ गतेबाट चलेको निर्णायक आन्दोलनपछि चैत २६ गते राति प्रजातन्त्र पुनर्बहाली भयो ।
प्रजातन्त्र आगमनपछि विभिन्न पेशामा आबद्ध भएकाहरू संगठित हुन थाले । शर्मा पनि नेपाल निजामति कर्मचारी संगठनको जिल्ला अध्यक्ष हुनुभयो । २०४७ सालमा कर्मचारी आन्दोलनमा सक्रिय भएकाले उहाँ पटकपटक पक्राउ पर्नुभयो । “अन्तिम पटक २५ दिन हिरासतमा बिताएपछि सरकारले मेरो जागिर नै खाइदियो” शर्माले भन्नुभयो ।
सरकारी जागिर खोसिएपछि शर्माले कुखुरापालन गर्नुभयो । उहाँले कुखुराको मासु बिक्री गर्ने पसल पनि चलाउनु भयो । स्टेशनरी पसल समेत खोल्नुभएका उहाँले २०६१ सालमा आइपुग्दा फार्मेसी सञ्चालन गर्नुभयो । “बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मूलगेट अगाडि मेडिकल सञ्चालन गरेँ, औषधी बेचेँ” शर्माले पुराना दिन स्मरण गर्दै भन्नुभयो, “फार्मेसीबाट दुई वर्षमा दश लाख घाटा खाएँ । उधारो उठाउनै १२ लाख जति थियो होला । त्यति बेला क्यान्सरको उपचारका लागि अस्पताल आएका बिरामीका आफन्तले उधारोमा औषधी लैजान्थे । उपचार गर्दागर्दै बिरामीको निधन हुन्थ्यो । कतिपयले बिरामीको निधनपछि पैसा तिरेनन्, डुबियो । कतिपय फार्मेसीमा आएर पैसा छैन भन्दै रुन्थे, भैगो भनेर छाडिदिन्थेँ ।”
फार्मेसीबाट घाटा खाएपछि शर्माले अस्पताल व्यवस्थापनतिरको यात्रा सुरु गर्नुभयो । “२०६२ साल फागुनबाट एनपिआई नारायणी सामुदायिक अस्पताल खोलियो । यस अस्पतालमा मैले आठ वर्ष ६ महिना कार्यकारी प्रबन्ध सञ्चालक र नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एनपिआई) मा २०६२ देखि २०७४ सालसम्म सञ्चालक भएर काम गरेँ” शर्माले अस्पताल व्यवस्थापनको यात्राबारे बताउनु भयो । एनपिआई समूहले २०७६ असारमा एनपिआई गोरखा अस्पताल दर्ता गर्यो । सोही वर्ष माघबाट अस्पताल भवन निर्माण कार्य सुरु गरी पाँच वर्षमा सम्पन्न गर्यो ।
“२०८२ साल साउन १८ गते गण्डकी प्रदेशबाट सय बेडको स्वीकृति लिएर एनपिआई गोरखा अस्पताल सञ्चालनमा ल्यायौँ” एनपिआई गोरखा अस्पतालका तत्कालीन प्रबन्ध सञ्चालक शर्माले भन्नुभयो, “तीन करोडमा चार रोपनी जग्गा किनेर त्यसमा थप ५२ करोड लगानी गरेर अस्पताल निर्माण कार्य सम्पन्न गरिएको थियो ।” शर्माले यस अस्पतालमा २०७६ असारदेखि २०८३ जेठसम्म सात वर्ष प्रबन्ध सञ्चालकका रुपमा काम गर्नुभयो ।
एनपिआई नारायणी सामुदायिक अस्पताल भरतपुरमा कार्यकारी प्रबन्ध सञ्चालक भई साढे आठ वर्ष काम गरेर अस्पताल व्यवस्थापनमा कुशल क्षमता प्रस्तुत गरिसक्नु भएका शर्माले हाल भरतपुर–९ स्थित समिट हेल्थकेयर हस्पिटल प्रा.लि.को कार्यकारी निर्देशक हुनुहुन्छ । स्वास्थ्य क्षेत्रबाहेक सामाजिक क्षेत्रमा पनि शर्मा सक्रिय हुनुहुन्छ । २०६१ देखि २०६८ सालसम्म अभिभावक संघको संयोजक रहनुभएका शर्मा नेपाल रेडक्रस सोसाइटी र क्यान्सर सेवा समाजको आजीवन सदस्य हुनुहुन्छ । लायन्स क्लब अफ कृष्णपुरका पूर्वसदस्य शर्माले लायन्स डिष्ट्रिक्टको सहकोषाध्यक्ष र सहसचिव भएर समेत काम गर्नुभएको छ । जीवनको बाँकी समय स्वास्थ्य क्षेत्रमा नै कर्मशील भएर बिताउने विचार गर्नुभएका शर्मा अहिले समिट हेल्थकेयर हस्पिटलको सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने कार्यमा व्यस्त हुनुहुन्छ ।
