बाढी सबैभन्दा सामान्य प्राकृतिक विपद् हो । यसले मानव स्वास्थ्य, समाज र अर्थतन्त्रमा गम्भीर असर पार्छ । बाढीले सम्पत्ति, सडक, व्यवसाय, कृषि र सार्वजनिक सेवाहरूमा क्षति पुर्याई ठूलो आर्थिक भार तथा नोक्सानी निम्त्याउन सक्छ । खराब मौसमको अवस्था टरिसकेपछि सरुवा रोगहरूको रूपमा क्षतिको दोस्रो लहर देखा पर्छ । दूषित पानी, लामखुट्टे, अन्य किरा–फट्याङ्ग्रा र जनावरहरूका कारण यस्ता रोगहरूको प्रकोप फैलिन सक्छ । यसका साथै श्वासप्रश्वाससम्बन्धी र छालाको संक्रमण पनि हुन सक्छ । यी सबै बाढीपछिका खतराहरू हुन् जसले स्वास्थ्य जोखिम बढाउँछन् ।
दूषित पानी वा माटोको प्रत्यक्ष सम्पर्कमा आउँदा मुसाबाट सर्ने रोगहरूको जोखिम हुन्छ । साथै, दूषित पानीसँगको प्रत्यक्ष सम्पर्क र सरसफाइको अभावले छालाको संक्रमण तथा पानीजन्य अन्य सरुवा रोगहरू निम्त्याउन सक्छ । यसबाहेक, आपतकालीन आश्रयस्थलहरूमा हुने अत्यधिक भीडभाडले पनि सरुवा रोगको जोखिम बढाउन सक्छ ।
बाढीपछि हैजा, क्रिप्टोस्पोरिडियोसिस, कडा झाडापखाला, रोटाभाइरस संक्रमण र आन्द्रे ज्वरोलगायत रोगहरू फैलिन सक्छन् । त्यसैले यस्ता रोगहरूको रोकथाम र नियन्त्रणका लागि राम्रो सरसफाइ र सुरक्षित पानी शुद्धिकरणमा ध्यान दिनुपर्छ । त्यसैगरी, प्रभावकारी ’भेक्टर’ (रोग सार्ने जीव) नियन्त्रण रणनीतिहरू अपनाएर तिनको व्यवस्थापनमा विशेष जोड दिनुपर्छ । यसका साथै आपतकालीन आश्रयस्थलहरूमा हुने भीडभाडका कारण सर्न सक्ने डिप्थेरिया, इन्फ्लुएन्जा र लहरे खोकीजस्ता रोगहरू विरुद्धको खोजीकरणलाई प्राथमिकता दिनु पनि उत्तिकै महत्त्वपूर्ण छ ।
बाढीपछिको अवस्थामा सरुवा रोगको प्रकोप चिन्ताजनक ’दोस्रो लहर’ को समस्या हो । जानकारीको अभावका कारण बाढीसँग सम्बन्धित सरुवा रोगहरूको जोखिम, भार र प्रवृत्तिबारे पर्याप्त ध्यान नपुग्न सक्छ । तसर्थ सरुवा रोगलाई बाढीपछिको एउटा प्रमुख विपद् (विपद्पछि अर्को विपद् निम्त्याउने घटना) का रूपमा लिनुपर्छ । यो जनस्वास्थ्यको मुद्दा मात्र नभई संस्थागत जोखिमको विषय पनि हो ।
(डा. पोखरेल सहप्राध्यापक हुनुहुन्छ ।)
