चितवन। बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा.डा. योगेन्द्रप्रसाद सिंहले अस्पताललाई स्तरोन्नति गरी ‘नेशनल क्यान्सर इन्स्टिच्युट’ का रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन् । अस्पतालको २७औँ वार्षिकोत्सव तथा २२औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा अस्पतालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भोटेकोशी बाढीका कारण देश विपद्मा रहेकाले यसपटक सप्ताहव्यापी कार्यक्रम गर्न नसकिएको उनले बताए। अस्पतालको विकासका लागि उपचारसँगै अनुसन्धानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले भने, “अनुसन्धानविना संस्थाको विकास गर्न गाह्रो हुन्छ।”
अध्यक्ष सिंहले चिकित्सकलाई अनुसन्धानमा प्रोत्साहित गर्न यसै वर्षदेखि युवा वैज्ञानिक अवार्ड सुरु गरिएको बताए। आफ्नै बचतबाट ५० हजार रुपैयाँको पुरस्कार सुरु गरिएको र आगामी वर्षदेखि पुरस्कार राशि बढाएर एक लाख रुपैयाँ पुर्याउने उनले बताए।
कार्यक्रममा अस्पताल सञ्चालक समितिकी सदस्य ईशा प्रधानले अस्पतालको उपचार सेवासँगै वित्त, नीति, प्रणाली र सार्वजनिक विश्वासलाई पनि सुदृढ बनाउनुपर्ने बताइन्। पूर्वअध्यक्ष डा. निर्मल लामिछानेले अस्पतालमा रिसर्च कार्यालय स्थापना गरी अनुसन्धानलाई संस्थागत गर्न सुझाव दिए।
अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले गत आर्थिक वर्षको आय–व्यय तथा प्रगति विवरण प्रस्तुत गर्दै क्यान्सरको उपचारभन्दा सतर्कता र रोकथामलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो भने अस्पतालद्वारा प्रकाशित खबरपत्र र वार्षिक प्रतिवेदन विमोचन गरिएको थियो। यसै अवसरमा यस वर्षदेखि सुरु गरिएको युवा वैज्ञानिक अवार्ड क्यान्सर सर्जन डा. सुनिल ढकाललाई प्रदान गरिएको छ। विभिन्न जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेखका आधारमा प्रदान गरिएको उक्त पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ।
