नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ र ४ का ९ जना व्यक्तिमा सिकलसेल तथा थालसेमिया रोग फेला परेको छ । ५ जनामा सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेको हो ।
स्वास्थ्य कार्यालय बाँकेले ती वडामा सिकलसेल तथा थालसेमिया रोगको स्क्रिनिङ गरिरहेको छ । सङ्कलित ६० जनाको नमुना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ९ जनामा सिकलसेल तथा थालसेमिया रोग फेला परेको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रसन्न मिश्रले जानकारी दिनुभयो । अब ती परिवारका सदस्यहरूको पनि नमुना जाँच गर्ने तयारी थालिएको छ ।
राप्ती सोनारीबाट करिब दुई हजार नमुना सङ्कलन गर्ने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिनुभयो । दैनिक पचास जनाको नमुना सङ्कलन भइरहेको सिकलसेल ल्याब विज्ञ सञ्जीव चौधरीले बताउनुभयो ।
थारु समुदायमा वंशाणुगत रुपमा रहेको सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि राप्ती सोनारीमा दैनिक रुपमा स्क्रिनिङ तथा परामर्श शिविर भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले बताउनुभयो ।
पश्चिम नेपालका बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, कैलाली र कञ्चनपुर लगायत जिल्लामा बसोबास गर्ने थारु समुदायमा सिकलसेल तथा थालसेमिया रोग जनस्वास्थ्य समस्याकै रुपमा रहेको छ ।
राप्ती सोनारीमा पनि थारु समुदायको बसोबास बढी रहेकाले सिकलसेल तथा थालसेमिया रोगको पहिचान, उपचार र निदानका लागि स्क्रिनिङ तथा परामर्श शिविर आयोजना गरिएको शाहले बताउनुभयो ।