काठमाडौं । पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल अस्वस्थ भएका छन् । उनका दुवै मिर्गौलामा समस्या भएपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु गरिएको छ । ७३ वर्षका कटवालको अहिले उक्त अस्पतालमा डायलासिस चलिरहेको छ ।
कटवालको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह चिकित्सकले दिएको पारिवारिक स्रोतले जानकारी दियो । चिकित्सकको सल्लाह बमोजिम कटवालले प्रत्यारोपणको तयारी गरेको बताइएको छ ।
उनको पहिलेदेखि नै एउटा किड्नी सानो अर्थात् ‘युनिल्याटरल रेनल हाइपोप्लासिया’ भएको थियो । तर अर्को मिर्गौला भने सामान्य थियो ।
दुवै मिर्गौलामा समस्या आएपछि अहिलेसम्म उनको चारपटक डायलासिस गरिसकिएको छ । प्रत्यारोपणका लागि ‘डोनर’ खोज्ने क्रम जारी राखेको कटवालले जानकारी दिए ।
परिवारका एक सदस्यका अनुसार डोनर भेटिएका पनि छन् तर मिल्नुपर्ने हुनाले प्रक्रिया जारी छ फाइनल भइसकेको छैन ।
कटवाललाई आफन्तले विदेशमा उपचार गर्न सुझाएको पारिवारिक स्रोतले जानकारी दिएको छ । तर उनले भने नेपालमै प्रत्यारोपण गर्ने चाहना व्यक्त गरेका छन् ।