काठमाडौँ, हजुरलाई नमस्कार परोपकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आज काठमाडौँको बाफलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । उक्त अवसरमा २७ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेत्री एवं पूर्वमन्त्री कमला रोकाले रगत अभाव भएका बेलामा रक्तदान कार्यक्रम राखेर हजुरलाई नमस्कार परोपकारी संस्थाले राम्रो काम गरेको बताउनुभयो । “रक्तदान पुण्य काम हो, तपाईँले गरेको रक्तदानले अरु कसैको ज्यान जोगिन सक्छ, पुण्य काममा सबै सहभागी बनौँ”, उहाँले भन्नुभयो ।
उहाँले मुलुकमा समाजसेवा गर्ने व्यक्तिको अभाव भइरहेको अवस्थामा रक्तदान कार्यक्रम गरेर संस्थाले राम्रो र उदाहरणीय काम गरेको बताउनुभयो । समाजसेवी एवं संस्थाका अध्यक्ष ताराबहादुर कुँवरले परोपकारी संस्थाले चक्रपथ सरसफाइ अभियान, बागमती सरसफाइ अभियान, रक्तदानलगायतका सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो ।
“हजुरलाई नमस्कार परोपकारी संस्थाले पहिलो चरणमा लगातार १५ हप्ता रक्तदान कार्यक्रम गरेका थियौँ, दोस्रो चरणको रक्तदान कार्यक्रम गतहप्ताबाट सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । सो संस्थाले अनाथ तथा असाहय व्यक्तिलाई समेत सहयोग गर्दै आइरहेको छ ।