काठमाडौं । सन् २०२१ नोभेम्बरमा बेलायत सरकारले नेपालबाट १० हजार हेल्थ प्रोफेसनल रोजगारीका लागि लैजाने प्रस्ताव पठायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउनका लागि जीटुजीमार्फत नै प्रक्रिया अघि बढाउने निर्णय ग–यो ।
बेलायत सरकारबाट माग भएबमोजिम नर्सिङ जनशक्ति पठाउने योजनाअनुरूप पछिल्लोपटक बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस, नेसनल हेल्थ सर्भिसका प्रतिनिधि तथा काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीचको छलफलबाट श्रम समझदारीपत्रको मस्यौदा तयार पारिएको छ । श्रम समझदारीपत्रमा हस्ताक्षरका गर्नका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपश्चात् सम्झौताको टुंगो लाग्नेछ ।
