बेइजिङ । चीनमा १ सय ६६ वटा कोभिड–१९ संक्रमणका घटना राजधानीस्थित एउटै बार (मदिरालय)सँग सम्बन्धित भएको अधिकारीहरूले बताएका छन् । एकजना सरकारी प्रवक्ताले यो महामारी अत्यन्तै भयावह भएको बताएका छन् ।
अब तीन दिनभित्र सो बार वरपर बस्ने सबै व्यक्तिका स्वास्थ्य परीक्षण गरिने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बेइजिङमा संक्रमणको संख्या न्यून छ । तर, ‘शुन्य कोभिड’को नीति अवलम्बन गरिरहेको विश्वको एक प्रमुख अर्थतन्त्र चीनका लागि यो तथ्यांक पनि उच्च नै रहेको छ ।
चाओयाङ जिल्लाको सान्लितुनको लोकप्रिय मनोरञ्जन क्षेत्रमा रहेको ‘द हेभेन सुपरमार्केट बार’बाट सो संख्यामा कोरोना संक्रमण भएको हो ।
कोरोना पोजिटिभको घटना सार्वजनिक हुनासाथै आइतबार सयौँ व्यक्ति बस्ने गरेका चाओयाङका दुईवटा भवनमा कडा लकडाउन गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । केही दिन अघि मात्र बेइजिङ कोरोना सम्बन्धी केही नियम सहज बनाइएको थियो ।