दोलखा । नेपालको झण्डै २७ प्रतिशत (२६ दशमलव ६ प्रतिशत) घरधुरीमा कम्तीमा एक जना मानिस शरीरको तल्लो भाग (कम्मर मुनिको भाग) मा हुने विभिन्न समस्याबाट पीडित रहेको एक अध्ययनले देखाएको छ ।
त्यसमा पनि ७५ प्रतिशत महिला रहेको पाइएको अध्ययनमा संलग्न गैर सरकारी संस्था कृपाका सह निर्देशक डाक्टर महेश पुरीले बताउनुभयो ।
सेन्टर फर रिसर्च अन इन्भाइरोमेन्ट हेल्थ एण्ड पपुलेशन एक्टिभिटिज अफ साउथएम्टोन युकेले कृपाको सहयोगमा नेपालको तीन जिल्ला दाङ, लमजुङ र दोलखामा नमूनाको रुपमा उक्त अध्ययन गरेको थियो ।
तराईको जिल्लाबाट दाङ, पहाडी जिल्लाबाट लमजुङ र हिमाली जिल्लाबाट दोलखाका १८ वर्ष माथि उमेर समूहका २५ सय २५ घर धुरीमा पुगेर अध्ययन गरिएको डाक्टर पुरीले बताउनुभयो । त्यसमा कम्मर मुनिको भागमा समस्या भएर पीडित बनेका पाँच सय जनासँग कुराकानी गरिएको थियो ।
तीन जिल्लाका पाँच वटा सहरी तथा पाँच वटा ग्रामीण गरी १० वटा क्लस्टरमा विभाजन गरी उक्त अध्ययन गरिएको डा. पुरीले बताउनुभयो । अध्ययनमा सेन्टर फर रिसर्च अन इन्भाइरोमेन्ट हेल्थ एण्ड पपुलेशन एक्टिभिटिज अफ साउथएम्टोन युकेका डा. आमोस चानुन, लुसी गेट्स लगायतको सहभागिता रहेको थियो ।
अध्ययन अनुसार मानिसको शरीरमा कम्मर मुनिका २६ वटा प्वाइन्ट हुने र त्यसमध्ये सबैभन्दा धेरै घुँडामा देखिने समस्याबाट मानिसहरू पीडित रहेको पाइएको अध्ययनमा संलग्न साउथएम्टोन युकेका डा. आमोस चानुनले बताउनुभयो । अध्ययन सन् २०२१ को जुलाई–अगस्टबाट सुरु गरिएको थियो । अध्ययन अनुसार दाङको तुलनामा दोलखा र लमजुङमा कम्मर मुनिको भागमा हुने समस्याबाट पीडित मानिसको सङ्ख्या धेरै छ ।
यो समस्याका कारण ९१ दशमलव ८ प्रतिशतको काममा प्रभाव पारेको र त्यसमध्ये ५९ दशमलव ४ प्रतिशतले काम छोड्नुपरेको तथा ४५ दशमलव ४ प्रतिशतले अर्को काम गर्नुपरेको अध्ययनले देखाएको साउथएम्टोन युकेका लुसी गेट्सले बताउनुभयो ।
समस्याबाट पीडित २२ प्रतिशत मानिसले उपचार सेवा नै पाउन नसकेको पनि अध्ययनले देखाएको छ । उपचार सेवा प्राप्त गर्नेहरूमा दाङ र लमजुङका पीडितले धेरैजसो निजी अस्पतालमा सेवा लिएको र दोलखाका पीडितले धेरैजसो सरकारी अस्पतालमा सेवा लिएको पाइएको डा. पुरीले बताउनुभयो ।
अध्ययन प्रतिवेदन काठमाडौँमा स्वास्थ्यसँग सम्बन्धित विज्ञ तथा सरकारका स्वास्थ्य पोलिसी बनाउने व्यक्तिहरूबिच सार्वजनिक गरिएको र दोलखामा हुराडेको सहयोगमा अध्ययनमा संलग्न पालिकाका स्थानीय तथा जनप्रतिनिधिको बिचमा सार्वजनिक गरिएको डा. पुरीले बताउनुभयो ।