काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना र प्रविधि मानव सभ्यताको बहुआयामिक विकासको अभिन्न अङ्ग भएको भन्दै सरकारले सूचना प्रविधिको सुरक्षित प्रयोग गरी आर्थिक सामाजिक क्षेत्रका क्रियाकलापलाई सूचना प्रविधिमैत्री बनाउने कार्यक्रम अघि सारेको बताउनुभएको छ ।
राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७९ अन्तर्गतका मन्त्रालयहरूको विभिन्न शीर्षकहरूमाथि छलफलमा उठेका प्रश्नहरूको आज जवाफ दिनुहुँदै मन्त्री कार्कीले सामुदायिक अस्पतालको इन्टरनेट र सामुदायिक माध्यमिक विद्यालय को न्यूनतम महसुलमा ५० प्रतिशत अनुदान दिइने बताउनुभयो ।
मन्त्री कार्कीले डिजिटल नेपालको अवधारणालाई साकार पार्न डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा जोड दिइएको पनि बताउनुभयो ।
मन्त्री कार्कीले सरकारी सेवालाई सूचना प्रविधि मैत्री बनाउनुका साथै कागज रहित अवधारणालाई कार्यान्वयन गर्न केन्द्रीय स्तरका निकायमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गरिएको र यो प्रणालीलाई देशभरका कार्यालयमा विस्तार गरिने पनि बताउनुभयो ।
मन्त्री कार्कीले सूचना प्रविधिको सुरक्षित प्रयोग गरी सबै नागरिकको दैनिक क्रियाकलाप सघाउ पु¥याउन साइबर सुरक्षा सम्बन्धी कार्यक्रम सुरु गरिएको उल्लेख गर्नुभयो ।
मन्त्री कार्कीले दूरसञ्चार सेवा विस्तार गर्दा तानिएका केबल र तारहरूको व्यवस्थित सदुपयोग गर्ने पनि बताउनुभयो ।
