विराटनगर । बिरामी हेर्नुपर्ने समयमै सरकारी अस्पतालका चिकित्सक निजी क्लिनिकमा काम गर्न थालेपछि अस्पताल प्रशासनले त्यस्ता चिकित्सकलाई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ ।
विराटनगरको कोसी अस्पतालमा कार्यरत धेरै चिकित्सक कार्यालय समयमै अनुपस्थित भई निजी क्लिनिकमा जान थालेको भन्दै अस्पतालले प्रशासन गुहारेको हो । प्रशासनलाई पत्राचार गरी त्यस्ता चिकित्सकलाई कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।
सरकारी अस्पतालमा सेवा लिन आउने बिरामीलाई जाँच गर्नुको साटो निजी क्लिनिकमा जाने क्रम बढेको भन्ने गुनासो आएपछि कोसी अस्पतालका निमित्त मेडिकल सुप्रिटेन्डेन्ट डा.यज्ञराज खरेलले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेका हुन् ।
कोशी अस्पतालको बोर्डमा रहेका धेरै चिकित्सक तथा स्वास्थ्यकर्मी बाहिर जान थालेपछि कारबाही गर्न माग गरेको र यसको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाईसमेत दिइएको जनाइएको छ । कोशी अस्पतालमा उपचार गर्न दैनिक ठूलो संख्यामा बिरामी आए पनि चिकित्सक नभेटिने समस्या छ ।
