चितवन । भतरपुर महानगरपालिकाले ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा विदाई गरेको छ ।
आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकास पाएका महिला स्वयंसेविकालाई विदाई गरिएको हो ।
भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकाहरुलाई विदाई गरिएको थियो ।
गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै विदाई गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।
त्यस्तै प्रदेश सरकारले पनि विदाई गर्दा रु २० हजार दिने गरेको छ । विदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कार्यको प्रशंसा गर्नुभयो ।
स्वास्थ्य सचेतना फैल्याउने कार्यमा स्वास्थ्य स्वंयसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन समेत पाएको मेयर दाहालको भनाई थियो । रकम दिनुको उदेश्य यहाँहरुले गर्नु भएको सेवाको उच्च कदर गरेर दिएको सहयोग गरेको उहाँले स्पष्ट पार्नुभयो ।
महानगरपालिकाले स्वयंसेविकाको लागि अध्ययन भ्रमण, चाडवार्ड खर्च र यातयात खर्च भनेर रकम विनियोजन पनि गर्दै आएको मेयर दाहालले जानकारी दिनुभयो ।
अवकास पाएका स्वास्थ्य स्वमसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
महिला स्वमसेविकाहरुलाई बाल स्वास्थ्य, मातृस्वास्थ्यतर्फ समुदाय स्तरमा काम गर्दै जनचेतना फैल्याउने काम गर्दै आइरहेका छन् । नेपालमा घर बाहिर शौच गर्नेदेखि विभिन्न महामारी रोग विरुद्ध लड्न महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्दै आइएको थियो । नेपालका महिला स्वयंसेविकाको कार्यको मूल्याङकन गर्दै विश्व स्वास्थ्य संगठनले पुरस्कृत समेत गरेको थियो ।
