राजविराज । गजेन्द्रनारायण सिंह अस्पताल राजविराज अन्तर्गत सामाजिक सेवा एकाइ तथा ज्येष्ठ नागरिक सेवाबाट सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
एकाइमार्फत मासिकरूपमा साढे एक सय र दैनिकरूपमा पाँच बिरामीले सेवा लिएको सो एकाइले जनाएको छ । एकाइका प्रमुख सूर्यकान्त झाले गत वर्ष आठ सय ४५ पुरुष र नौ सय ७२ महिला गरी एक हजार आठ सय १७ बिरामीले सेवा लिएको जानकारी दिनुभयो ।
यो अघिल्लो वर्षभन्दा एक हजार एक सय १६ बढी हो । आर्थिक वर्ष २०७७÷०७८ मा तीन सय १८ पुरुष र तीन सय ८३ महिला गरी सात सय एकले सामाजिक सेवा लिएका थिए । यसमा चार सय १४ मधेसी, एक सय ५४ दलित, ७६ जनजाति, ३० ब्राह्मण क्षेत्री र २७ मुस्लिमले सेवा लिएका छन् ।
आर्थिक वर्ष २०७८÷२०७९ मा एक हजार ८८ गरिब, पाँच सय ४३ ज्येष्ठ नागरिक, ९७ जना लैङ्गिक हिंसा पीडित, २८ जना असहाय, ११ जना अपाङ्गता भएका व्यक्ति, दुई जना प्राकृतिक प्रकोपमा परेका व्यक्ति र अन्य ४८ जनाले सेवा लिएको सेवा एकाइको तथ्याङ्कले देखाएको छ । तीमध्ये परिचयपत्र वा सिफारिस पत्रसहितका आउने बिरामीको सङ्ख्या न्यून छ ।
ग्रामीण भेगबाट असहाय, अशक्त, गरिब, दलित, ज्येष्ठ नागरिक परिचयपत्र नलिई आउने गरेका कारण उनीहरूको उमेर, अवस्था हेरेर सेवा दिनुपरेको उहाँले जानकारी दिनुभयो । सेवा लिएका एक हजार आठ सय १७ मध्ये एक सय १५ ले मात्र परिचय पत्र वा सिफारिस लिएर आएको देखिएको छ ।
उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ तर टाढाबाट आशा लिएर आउने असहाय, गरिब, ज्येष्ठ नागरिकलाई उपचार नगरी फर्काउन गाह्रो परेकाले पहिलो पटकका लागि सेवा दिने गरेको र दोस्रो पटक आउँदा परिचयपत्र लिएर आउन भन्ने गरेको एकाइका उपप्रमुख धनेश्वर यादवले बताउनुभयो ।
