चितवन । नेपाल जेसिज अन्तर्गत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने १२ जिल्लाका ३६ वटा जेसिज शाखाद्धारा साउनभर देवघाटमा निःशुल्क स्वास्थ्य शिविर एवं पानी वितरण गरेको छ । साउन महिनाका पांँचवटा सोमबार जेसिजले उक्त कार्यलाई निरन्तरता दिई सम्पन्न गरेको हो ।
जेसिज शाखाहरुले चितवन, नवलपुर र तनहँुको संगम स्थल देवघाटधाममा दर्शन तथा स्नान गर्न आउने भक्तजनहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी निःशुल्क स्वास्थ्य शिविर तथा पानी वितरण गरिएको गैंडाकोट जेसिजका अध्यक्ष जेसी शंकर अधिकारीले जानकारी दिए ।
कार्यक्रमका व्यवस्थापक तथा नारायणगढ जेसिजका अध्यक्ष जेसी अमृत श्रेष्ठले एक महिना सम्म संचालित सो कार्यक्रमा बाट दर्शन तथा स्नान गर्न आउने पन्ध्र हजार भन्दा बढी भक्तजनहरुलाई दुईलाख पच्चिस हजार रकम बराबरको निशुल्क पानी वितरण गरिएको बताए ।
उक्त स्वास्थ्य शिविरमा प्राविधिक सहयोग गरेको श्री पुष्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरका चिकित्सक डा. विश्वास गुरुङ, डा. पुकार न्यौपाने , डा. टेकेन्द्र गौतम र डा.प्रोगे्रस शर्माको टोलीले विरामीको स्वास्थ्य चेकजाँच गरेका थिए ।
शिविरमा नेपाली औषधि कम्पनी क्वेस्ट फर्मास्युटिकल्स् प्रा.लि.,नेशनल हेल्थ केयर प्रा.लि. र किभा फर्मास्युटिकल्स् प्रा.लि.बाट करिब ६ लाख रकम बराबरको निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शिविर संयोजक तथा प्रस्तावित बुलिङटार जेसिजका अध्यक्ष जेसी सन्दिप कुमार श्रेष्ठले बताए ।
प्रस्तावित देवघाटधाम जेसिजका अध्यक्ष जेसी विकास सापकोटाले नेपाल जेसीज अन्र्तगत रहेका क्षेत्र क, ख,ग र घ मा पर्ने सबै शाखाहरुको संयुक्त आयोजनामा सम्पन्न भएको यो सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश दिन सक्ने विश्वास व्यक्त गरे । जेसिजले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुका साथै अन्य जेसिज शाखाहरुलाई पनि संँगै जोडेर नेतृत्व विकास संगै समाज रुपान्तरणमा अघि बढ्ने सापकोटाले बताए । ।